फिल्म । आउँदो असोज १४ बाट प्रदर्शन हुने फिल्म ‘बाबरी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । यस अगाडी सार्वजनिक गरिएको दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ लोकप्रिय भएपछि निर्माण पक्षले तेस्रो गीत सार्वजनिक गरेको हो । सार्वजनिक ‘मायाका रंगहरु’ बोलको गीतमा रचना रिमाल र सनुप पौडेलको स्वर रहेको छ । कालीप्रसाद बाँस्कोटा र सविन एकतारेको शब्द रचना रहेको गीतमा काली स्वयंले संगीत भरेका छन् ।
गीतमा अदिती बुढाथोकी र धिरज नाडकर रोमान्टिक भावमा प्रस्तुत छन् । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा धिरज र अदितीसँगै धिरज मगर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुष्मा गुरुङ छिन् । ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
निर्देशक पौडेलकै कथा रहेको फिल्ममा कालीसँगै सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो ।











