‘पाँच पाण्डव’ का विषयमा के भन्छन् दीपक ?

फिल्म । अभिनेता दीपकराज गिरीले नयाँ फिल्म कुन गर्दैछन् भन्ने जिज्ञासा दर्शकमा हुनु स्वाभाविक हो । ‘छक्का पञ्जा’ सिरिजमार्फत दर्शकको प्रिय बनेका अभिनेता तथा लेखक गिरीले नयाँ फिल्म ‘पाँच पाण्डव’ गर्ने भएका छन् । आधिकारिक रुपमा घोषणा नगरिएता पनि अभिनेता गिरीले एक भिडिओ अन्तर्वार्तामा फिल्मको विषयवस्तु मन परेकाले शिर्षकसमेत आफैँले सुझाएको जानकारी दिए ।

‘फिल्मको विषय राम्रो छ, पाँच भाइको कथा भएकाले मैले नै पाँच पाण्डव नाम राखौं भन्ने सल्लाह दिएको हुँ । यो फिल्मको पटकथामा काम भइरहेको छ । फिल्मको पटकथा चित्त बुझेन भने पुनः लेखनमा जानेछौँ’, दीपकले भने ।

उनको यो भनाइले उनी फिल्मको विषयसँग निकै प्रभावित भएको बुझ्न सकिन्छ । दर्शकले उनीसँगै सीताराम कट्टेल ‘धुर्मुस’र जितु नेपाल ‘मुन्द्रे’ लाई एउटै फिल्ममा देख्न पाउने सम्भावना छ । वसन्त निरौलाको निर्देशन रहने नयाँ फिल्म ‘पाँच पाण्डव’ मा यी तीन लोकप्रिय कलाकारहरूले सहकार्य गर्ने भएका हुन् । अभिनेता नेपाल, कट्टेल, निर्देशक निरौला, फिल्मका लेखक, निर्मातासहितको टिम केही समय अगाडि पोखरा पुगेर अभिनेता गिरीसँग छलफल गरेका थिए ।

धुर्मुस र सुन्तली (सीताराम कट्टेलकी पत्नी) भने यस फिल्ममा औपचारिक रूपमै अनुबन्धित भइसकेको बताइएको छ । अभिनेता केदार घिमिरेले पनि यो समूहमा जोडिने सम्भावना छ । यदि यो सहकार्यले मूर्तरूप लिएमा, सन् २०१५ मा रिलिज भएको फिल्म ‘वडा नम्बर ६’ पछि यी कलाकार पहिलो पटक एकसाथ देखिनेछन् । यो फिल्म काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुने छ । फिल्मको प्रस्तुतकर्तामा ‘लाज शरणम्’ फेम्ड नवीन श्रेष्ठ र निर्माता कालीरानी श्रेष्ठ रहेका छन् । फिल्मको पटकथा सुशील पौडेलले लेखेका हुन् भने निर्माण नियन्त्रकको भूमिकामा दिलिप पन्त रहेका छन् ।

कमेन्ट गर्नुहोस्