फिल्म । आउँदो असोज ७ अर्थात दसैँलाई लक्षित गर्दै प्रदर्शनमा आउने फिल्म ‘प्रेम गीत ३’ले ट्रेलर सार्वजनिक भइसकेको छ । प्रेमको चरित्रलाई केन्द्रमा राखेर प्रेम र सत्ताको लडाइँको दुविधालाई देखाएको सार्वजनिक ट्रेलर नेपाली र हिन्दी भाषामा रिलिज भएको छ । नेपालीसँगै हिन्दी भाषामा समेत आउने भएपछि फिल्मको चर्चा पछिल्लो समय बढेको छ । मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ समेत ट्रेलरमा प्रस्तुत भएका छन् ।
पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढिरहेको समयमा हिन्दीमा अंग्रेजी र साउथका फिल्मलाई स्वरांकन गर्ने कलाकारहरुले आवाज दिएकै कारण ‘प्रेम गीत ३’ अन्य फिल्म भन्दा कम देखिएको छैन । प्रेमकथासँगै यो भागमा द्वन्द्वका दृश्यलाई प्राथमिकता दिएको ट्रेलर अहिले नेपालीसँगै हिन्दी भाषी दर्शक माँझ पपुलर छ । हिन्दीमा डब गरेर भारतमा प्रदृशन गर्न लागिएको फिल्मलाई स्व छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । फिल्मलाई छेतेनले मन्दिप गौतमसँग मिलेर लेखेका हुन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
फिल्मको हिन्दी ट्रेलरलाई भारत स्थित मुम्बईमा सार्वजनिक गरियो । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक सन्तोष , कलाकारहरु प्रदीप , क्रिस्टिना गुरुङ , सुनिल थापा, मनिष राउत, प्रेम पुरी मुम्बई पुगेका थिए । हिन्दी भाषामा प्रदर्शन हुने फिल्मलाई हौसला दिन बलिउडकर्मीहरु अभिनेता महेश मंजेकर, शिवाजी सतम, निर्देशक अनीस बाज्मी, कोरियोग्राफर गणेश आचार्य, संगीतकार एवं गायक पवनदीप राजन, निर्देशक इन्द्र कुमार, ‘प्रेमगीत ३’ का भारतीय निर्माता सुवाष कालेलगायत उपस्थित थिए ।
फिल्मको ट्रेलर हेरेपछि अभिनेता तथा निर्देशक महेश मंजेकरले फिल्म तथा कलाकारहरुले सम्भावना देखाएको बताए । ‘पछिल्लो समय हिन्दीमा स्वरांकन हुने फिल्मले दर्शकलाई नयाँ टेस्ट दिईरहेका छन् । सुवाषले यसलाई हिन्दीमा ल्याएर राम्रो गर्नु भएको छ । यसले राम्रो गर्ने आश गर्न सकिन्छ’ उनले भने । केहि फिल्ममा अभिनय गरेका टेलिभिजनकर्मी शिवाजी सतमले फिल्मलाई अन्तराष्ट्रिय लेभलको बनेमो प्रतिक्रिया दिए ।
बलिउडमा अनेकौँ हिट कमेडी फिल्म दिईसकेका निर्देशक अनीस बाज्मीले फिल्मको सुन्दर दृश्यको चर्चा गरे । ‘यी लोकेशनलाई आफ्नो फिल्ममा कैद गर्न मन थियो । यद्दपि मैले त्यो सकेको छैन । देखिएका सुन्दरताले मोहित बनाउँछ । यसको लुक्सले समेत दर्शकलाई हलसम्म आकर्षित गर्ने छ’ उनले भने । बलिउडका पुराना कोरियोग्राफर तथा निर्देशकसँगै पछिल्लो समय केहि फिल्ममा अभिनय समेत गरेका गणेश आचार्यले ट्रेलरलाई रुचाए । ‘फिल्मको ट्रेलरले नयाँ टेस्ट दिनेछ । हामीले हिमालयको सुन्दरतासँगै मिठो प्रेम कथा पाउने छौँ भन्नेमा आशावादी छु’ उनले भने ।
बलिउडमा लभ स्टोरी तथा कमेडी फिल्म निर्देशन गरेर चर्चामा रहेका निर्देशक इन्द्र कुमारले पनि ट्रेलर हेरेपछि प्रसंसा गरे । पछिल्लो समय सलमान खानलाई लिएर ‘नो इन्ट्री मे इन्ट्री’ फिल्मको निर्देशन गर्ने तयारीमा रहेका निर्देशक इन्द्रले फिल्म सफलताको शुभकामना दिए । ‘यो फिल्मले नयाँ दर्शक पाउनेमा ढुक्क छु । ट्रेलरमा टिमको मेहनत देखिएको छ , शुभकामना’ उनले भने ।
इन्डियन आइडल समेत रहिसकेका पवनदीप राजनले फिल्मसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘प्रेम गीत हेरको छु । अरुलाई सिफारिस पनि गरेको छु । अहिले यहिँ सिरिजमा जोडिन पाउँदा खुसी लागेको छ’ उनले भने । ट्रेलरले त्रम्रो प्रतिक्रिया पाएपछि प्रदीपले भारतीय दर्शकको मनमा बस्नलाई आफ्नो टिमले हिन्दी भाषामा बोलिरहेको बताए । ‘अन्तर्राष्ट्रिय मंचमा बोल्दा हामी अंग्रेजी प्रयोग गर्छौं । जसको कारण हामि धेरै अडियन्ससम्म पुगौंला । तर, हिन्दी बोल्दा हामि मनसम्म पुग्छौँ’ प्रदीपले भावनात्मक रुपमा जोडिने प्रयास गरे ।
निर्माता एवं निर्देशक सन्तोष सेनले आफुहरुले त्यस बेलाको गरेको दु:खले यतिबेला खुसि मिलेको बताए । ‘सुरुवातमा त नेपाल कै लागि फिल्म बनाएका थियौँ । हिमालयमा १ सय २० दिन बढी छायांकन गर्यौं । सुभाष सर र मुरली सरले मुम्बईसम्मको यात्रा तय गर्नमा सहयोग पुर्याउनु भयो । धन्यवाद उहाँहरुलाई’ सन्तोषले भने ।
अभिनेता सुनिल थापाले छायांकनका क्रममा गरेको दु:ख र त्यहाँको चिसोले निम्त्याएको समस्या सम्झिए । ‘तपाईहरुलाई फिल्मको दृश्यले लोभ्यायो । तर हामीले माइनस २९ डिग्रीमा खिचेका थियौँ । त्यतिबेला त्यहाँका स्थानीयहरुपनि तल्लो भेगमा झरिसकेका थिए । सन्तोष जीले त्यस्तो ठाउँमा कुनै कुरा कमि हुन् दिनु भएन । भारतीय दर्शकको लागि हिमालयको एउटा सुन्दर उपहार ल्याएका छौँ’ अभिनेता थापाले भने ।
फिल्ममा माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ । छेतेन गुरुङ र मनदीप गौतमको लेखन रहेको फिल्ममा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठ/पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन र बनिश शाहको सम्पादन छ । आसुसेन फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको सन्तोष सेनको निर्माण, चक्र बहादुर चन्द/डम्बर विक्रम सेनको कार्यकारी निर्माण र कुमार शान शाह/ओएसआर डिजिटलको सह-निर्माण छ ।










