उपन्यास । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेको उपन्यास ‘फुर्के’को आवरण सार्वजनिक भएको छ । लेखक खगेन्द्रले ‘फेसबुक लाइभ’मार्फत पुस्तकको भिडियो टिजरका साथमा पुस्तकको कभर सार्वजनिक गरेका हुन् । उनले यसलाई कुकुरको आत्मकथा भनेका छन् । लेखकको रुपमा परिचय बनाएका उनले पहिलो उपन्यास ल्याउन लागेका हुन् । यो पुस्तकले कुकुर र मान्छेबीचको सम्बन्धको कथा भन्छ ।
आफ्नो लेखन जीवनकै पहिलो उपन्यासको आवरण सार्वजनिक गर्दा उत्साहित भएका खगेन्द्र भन्छन्, ‘जीवन मानिसको मात्र हुँदैन । जीवनलाई मानिसले मात्र अनुभूत गर्दैन । हरेक जीवले आ-आफ्नो ढंगले जीवनलाई आआफ्नै तरिकाले अनुभूत गर्छन् । उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह/अवरोहमा उपन्यास केन्द्रित छ । मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास ‘फुर्के’मा प्रस्तुत गर्ने कोसिस गरेको छु ।’ चार वर्षअघि यो उपन्यास लेखन थालेका खगेन्द्रले कोरोनाकालमै यसलाई मूर्त रुप दिएका थिए ।
लामिछानेको यो उपन्यासलाई पनि पाठकले मन पराउनेमा हामी विश्वस्त रहेको प्रकाशक बुकहिलले प्रेस वक्तव्यमा भनेको छ । हार्डव्याक संस्करणमा मात्रै प्रकाशन हुने उपन्यासले कुकुरको सचित्र कथा भन्नेछ । उपन्यासको आवरण स्केच समीत श्रेष्ठ, आवरण डिजाइन सचिन यगोल श्रेष्ठ र लेआउट उमेश काफ्लेले गरेका हुन् । बालबालिकादेखि जुनसुकै उमेरका मानिसले पढ्न मिल्ने उपन्यासको मूल्य ५०० रुपैयाँ राखिएको छ । विशेष कार्यक्रमको आयोजना गरी उपन्यास भदौ अन्तिम साता सार्वजनिक गरिनेछ ।यसअघि लामिछानेका ‘फूलानी’ कथा सङ्ग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’ पुस्ताककार प्रकाशित छन् ।












