‘छमाया छपक्कै’ मनोरञ्जन उस्तै , प्रस्तुतीकरण फरक – दीपक

50 Shares

फिल्म । यस वर्षको प्रतिक्षित फिल्म ‘छमाया छप्पकै’ को औपचारिक घोषणा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गरिएको छ । घोषणामा बोल्दै निर्देशक दिपेन्द्र लामाले यसलाई छक्का पञ्जा सिरिजको रुपमा नलिन आग्रह गरे । ‘आमा सरस्वतीले बनाएको फिल्म भनेपछि दर्शकमा जुन प्रकारको अपेक्षा हुन्छ त्यो यसले पनि पूरा गर्छ तर यो छक्का पञ्जा सिरिज भन्दा फरक छ’ उनले भने ‘यो बिल्कुलै फरक कथामा बन्न लागेको फिल्म हो ।

मेरो कन्सेप्टलाई दीपकराज गिरीको टिमले पटकथामा ढाल्नुभएको हो र उहाँहरुले तयार गर्नुभएको स्क्रिप्ट मसँगै पूरा टिमलाई मनपर्‍यो ।’ फिल्ममा दीपकराज गिरी, केदार घिमिरे , जितु नेपाल , केकी अधिकारी लगायतको अभिनय रहनेछ भने केहि कलाकार चयनको प्रक्रियामा छन् । फिल्ममा आमा सरस्वति मुभिजसँगै रोहित अधिकारी फिल्म्स र आइएमइको संयुक्त प्रस्तुति रहनेछ ।

फिल्ममा रोहित अधिकारी निर्माता छन् भने निर्देशन सल्लाहकारको रुपमा दीपाश्री निरौला छिन् । ‘हामीले टिम वर्क गर्छौ , राम्रोको लागि हामी आफ्नो कुरा अगाडी राख्न सोच्दैनौ त्यसले शुटिङमा केहि विवाद जस्तो देखाउला तर दर्शकले हेर्दा राम्रो फिल्म हेर्न पाउछन’ दीपाले भनिन् ‘दर्शकले हामीलाई गरेको विश्वासलाई हामी घट्न दिदैनौ बरु बढाउछौ ।’

निर्माता अधिकारीको लगानी सुरक्षित भएपछि दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्त छ । ‘हामी मुनाफाका शेयर होल्डर हौ’ पटकथाकार समेत रहेका अभिनेता दीपकले भने ‘हामीले आफ्नो दर्शक बढाउँन खोजेका हौ , एउटा स्तरीय फिल्म दिउ भन्ने हाम्रो चाहना हो ।’अभिनेत्री केकी अधिकारीले फिल्म क्षेत्रलाई हाकेको टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । भूमिका चित्त बुझेका कारण काम गर्न राजी भएको उनको भनाई छ । आयोजित घोषणा कार्यक्रममा प्रहसनमार्फत् फिल्मको कथासार प्रट्याइएको थियो ।

फिल्मले शहरमा हुर्किएकी एक युवती र एक सोझो/अर्धबैशे पुरुष बीचको प्रेमकथा वाचन गर्नेछ । जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा दीपक शर्माको संगीत छ । फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । सम्पादनको जिम्मेवारी विपिन मल्लको काँधमा आएको छ ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् । दशैंमा प्रदर्शनमा आउने यो फिल्म ‘छक्का पञ्जा ४’ नभएको दीपकले स्पष्ट पारेका छन् ।

Facebook Comments