सुरू भयो निटफेस्ट

थियटर । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधबार सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै औपचारिक रुपमा महोत्सव आरम्भ भएको हो।

कुलपति शर्माले विदेशीहरु हिमाल हेर्नमात्र नेपाल आउने नभई यहाँको कला संस्कृति बुझ्न पनि आउने बताइन्। तर आफू सरकारी पदमै भए पनि यस क्षेत्रमा जति काम हुनुपर्थ्यो हुन नसकेको बताइन्। बजेटकै कारण ती काम गर्न नसकेको उनको भनाइ छ।

महोत्सवमा स्वागत मन्तव्य राख्दै निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले भने, ‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्नुभयो। आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं। महोत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गरिरहेका छौं।’

औपचारिक उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर असोएसिनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याटलगायतले आफ्नो मन्तव्य राखेका थिए।

चैत १२ गतेसम्म चल्ने महोत्सव १२ देशका १७ नाटक मञ्चन हुँदैछन्। महोत्सवमा नाटकसँगै कविता, संगीत, नृत्य प्रदर्शनी लगायत कार्यक्रमहरु समावेश छन्। महोत्सवको पहिलो पशुपति राईद्वारा निर्देशित ‘उम्लिदो खरानी र लेम्लेमा’ नाटक पदर्शन हुँदैछ। त्यसपछि २३ कविले कविता प्रस्तुत गर्नेछन्। किरण नेपाली र दीप्सन पुतुवारले ‘फोकट्र्रोनिक्स’ शीर्षकमा सांगीतिक प्रस्तुतिसँगै पहिलो दिनको कार्यक्रम समापन हुनेछ।

कमेन्ट गर्नुहोस्