सेभेन सिजले ‘अगस्त्य’ लाई नेपाल बाहिर प्रदर्शन गर्ने

फिल्म । सौगात मल्लको फिल्म ‘अगस्त्य–भाग १’ डायस्पोरामा बिक्री भएको छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच ‘अगस्त्य भाग १’ को अन्तर्राष्ट्रिय रिलिजलाई लिएर सम्झौता भएको हो । फिल्मका तर्फबाट निर्देशक सौरभ चौधरीसहित निर्माण पक्ष र सेभेन सिजका तर्फबाट वितरक विनोद पौडेल तथा रमेश चौलागाईले सम्झौता गरेका हुन् ।

सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका, बेलायत, युरोपका देशहरू, जापान, कोरिया, हङकङ, थाइल्यान्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र मध्यपूर्वका विभिन्न देशहरूका हलमा प्रदर्शन गर्नेछ । ‘नेपाली फिल्मलाई विश्वव्यापी प्रदर्शन गर्न पाउँदा हर्षित छौं । हामीले यसलाई बजारविस्तारसँगै नयाँ बजार खोज्ने कोसिसका रुपमा लिएका छौं’, सेभेन सिजका पौडेलले भने ।

निर्माण पक्षले फिल्मको छायांकन करिब ४५ प्रतिशत सकिंदै गर्दा नै अन्तर्राष्ट्रिय रिलिज महंगो रकममा बिक्री हुनुलाई उपलब्धि मानेको छ । ‘सेभेन सिज प्रालिसँगको यो सम्झौता ‘अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा हो’, निर्देशक चौधरीले बताए ।

‘अगस्त्य–भाग १’ को ४५ प्रतिशत छायांकन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि सुरु हुँदैछ। फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत अन्य नेपाली कलाकारसँगै भारतीय कलाकारहरुको पनि अभिनय रहेको छ।निर्देशक चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन रहेका छन्।

कमेन्ट गर्नुहोस्