फिल्म । भदौ १० गतेदेखि प्रदर्शनमा आउने फिल्मको भव्य प्रिमियर गरिएको छ । फिल्म हेर्न पुगेका सेलेब्स तथा सञ्चारकर्मीले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । जुम्लामा छायांकन गरिएको फिल्म ‘प्रकाश’ को शिर्ष भूमिकामा प्रदीप खड्का छन् । उनले शिक्षक बन्न गरेको संघर्षको कथामा फिल्म छ । फिल्मलाई उनकै माध्यमबाट तयार गरिएको छ । अर्थात् फिल्म प्रकाशको भोगाई हो ।
देशमा परिवर्तन ल्याउन युद्ध लडेर शहिद भएका व्यक्तिको परिवारले सिस्टम र समाजबाट भोग्ने समस्यालाई फिल्ममा चित्रण गरिएको छ । योगता हुँदा हुँदै पनि जातीय तथा वर्गीय विभेदले निम्त्याउने अवस्था पनि फिल्ममा छ । फिल्म हेरेर निस्किएका चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले फिल्मले सिङ्गो नेपालको प्रतिनिधित्व गर्ने बताए । ‘फिल्मको कथा अर्गानिक छ । यो हाम्रै समाजको कथा हो । १० वर्षे युद्ध पश्चात एउटा परिवारको अवस्थालाई फिल्मले चित्रण गरेको छ । फिल्ममा संलग्न सम्पूर्ण पक्षको मेहनतले फिल्म राम्रो बनेको छ । निर्देशक , कलाकार , प्राविधिक सहित निर्मातालाई पनि आभार प्रकट गर्न चाहन्छु’ अधिकारीले भने ।
प्रदीपलाई स्टार बनाउने निर्माताको रुपमा चिनिने सन्तोष सेन फिल्म हेरेर खुशी देखिए । उनले मिडियाकर्मीसँग आफ्नो खुशी साटे । ‘प्रदीपले गरेको कामले मलाइ खुशी लागेको छ । उसले कलाकारको रुपमा आफूलाई प्रमाणित गरेको छ । अब उसले जुनकुनै चरित्रमा आफूलाई प्रस्तुत गर्न सक्छ । फिल्मका सम्पूर्ण पक्ष बलियो छ । विशेष मलाइ साउण्ड निकै मन पर्यो । नेपालमा दबिएको एउटा कथालाई फिल्म मार्फत प्रस्तुत गर्ने सम्पूर्ण टिमलाई सफलताको शुभकामना’ निर्माता सेनले भने । फिल्मको कथावस्तु र कलाकारको प्रस्तुतिले निर्देशक दीपाश्री निरौलालाई छोयो । ‘यसको विषय हाम्रै गाउँ , समाजको भएकोले सजिलै दर्शक कनेक्ट हुनेछन । विषय उठान निकै मन पर्यो साथमा त्यसमा जीवन भर्ने कलाकारको अभिनय । मलाई फिल्म निकै मन पर्यो । यो फिल्म नेतालाई पनि देखाउनु पर्छ’ दीपाले भनिन् । फिल्म हेरेर पाइरहेको प्रतिक्रियाले निर्देशक दिनेश राउत दंग छन् ।
उनले प्रिमियरमा पाएको प्रतिक्रिया सार्वजनिक शोहरु मार्फत पनि पाउनेमा विश्वस्त छन् । फिल्म हेरेर निस्किएकी अभिनेत्री नम्रता श्रेष्ठले निर्देशक दिनेश राउतले गरौव गर्न लायक फिल्म बनाएको बताइन । ‘म दिनेशको काम मार्फत कहिले निराश भएकी छैन । यसपटक उसले झनै मन जितेको छ । यो फिल्मले दर्शकको रुपमा म भित्र प्रश्न गर्न बाध्य बनाएको छ । एउटा विचार प्रवाह भएको महसुश गरेकी छु’ नम्रताले भनिन् । दिनेश भने उपस्थित निम्तालुको प्रतिक्रिया लिन व्यस्त थिए । स्टारडमको छायाँबाट निस्किएर ‘प्रकाश’ बनेका प्रदीपले फिल्मले उठान गरेको विषयमा दर्शक सहजै कनेक्ट हुने बताए । ‘हामीले इमान्दारिता पुर्वक हाम्रै कथा देखाउन गरेको प्रयाशलाई प्रिमियरमा रुचाउनु भएको छ । यसले मलाई कलाकारको रुपमा केहि नयाँ गर्न प्रेरित गरेको छ’ प्रदीपले भने । फिल्म हेर्न अभिनेता खगेन्द्र लामिछाने , रबिन्द्र सिंह बानियाँ , निर्देशक प्रदीप भट्टराई , निर्देशक अशोक शर्मा , अभिनेता विनय श्रेष्ठ , अभिनेता अनुप बराल , कवि विप्लव प्रतिक , अभिनेता आर्यन सिग्देल लगायत उपस्थित थिए ।
मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।










