फिल्म । दीया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सिताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दीया यसमा जुम्लाकी एक सामान्य महिलाको रुपमा प्रस्तुत छिन् । थियटरमा काम गर्ने कलाकार भएकाले उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । जुम्लामा ४५ दिनको हाराहारीमा छायांकन भएता पनि उनी त्यहाँ दुई महिना बसेकी थिइन् । उनी त्यहाँ दुई साता बढी बस्नुको कारण भूमिकालाई जीवन्त बनाउनु थियो । सम्पन्नतामा बाल्यकाल बिताएकी मात्र नभई एसएलसी पश्चात नेपाली भाषा जानेकी दीयाले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको मेहनत त प्रसंसा योग्य छ नै साथै उनले स्वीकारेको भूमिका पनि आफैँमा च्यालेन्जिङ छ । किनकी उनले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छिन् । उनी आफ्नो उमेर भन्दा बढी उमेरको भूमिकामा प्रस्तुत भएकी छिन् ।
श्रीमान् नभएता पनि छोरालाई शिक्षक बनाउन संघर्ष गरेकी महिला हुन् सिता । आफ्नो परिवारको निर्णय आफैँले लिनु पर्ने , घरमुलीको दायित्व निर्वाह गर्नु पर्ने सिताले जुम्लाको द्वन्द्व पश्चात श्रीमान् नभएकी एकल महिलाको भूमिका निभाएकी हुन् । उनी सक्षम छिन् , तर उनलाई सघाउन नयाँ व्यवस्था मितव्ययी छैन । त्यसैले उनी श्रीमान्को सपनालाई पुरा गर्न र छोरा शिक्षक बनेको हेर्न सघर्षरत छिन् । ‘सिता मार्फत दीयाले धेरै कुरा सिकेकी छिन् । घरमुलीको दायित्वसँगै समाजसँग गर्ने संघर्ष र त्यो जुम्लाको जीवनले धेरै प्रेरणा दिएको छ’ उनले भनिन् । फिल्ममा अन्तिम समयमा जोडिएकी दीयाले आफ्नो क्यारेक्टरको बारेमा स्क्रिप्टमै बुझेकी थिइन् । त्यसलाई जीवन्त बिताउन उनले छायांकन बाहेक दुई साता भन्दा बढी समय जुम्लामा बिताइन । त्यहाँको स्थानीय महिलाले गर्ने व्यवहार , उनीहरु शारीरिक अवस्था , संघर्ष , हाउभाउलाई एडप्ट गरिन् । फलत: उनले डोको बोक्ने देखि हलो जोत्नेसम्म गरिन् । उनले आफूलाई जीवन्त बनाउन छायांकन अवधिभरि झन्डै ४५ दिनसम्म शरीरको देखिने भाग हात , खुट्टा , घाटी सफा गरिनन् ।
उनले आफूलाई जुम्लेली नै बनाइन । त्यसले उनलाई क्यारेक्टरमा रहन मदत गर्यो । त्यो समयमा उनको हात , खुट्टा , ओठ पनि फुटेको थियो । समय बित्दै गएपछि ती भागमा सुख्खा भएर रगतसम्म आउथ्यो । त्यसबाट उनलाई रिकभर हुन् अहिलेसम्म समय लागेको छ । केहि असर अझैँ बाँकी छन् । ‘सबै कुरा मेकअपमा मात्र डिपेन्ड हुनु हुन्न् भनेर ४५ दिन जति देखिने शरीरको भागलाई सफा गरिन् । किनकी बाहिरी आवरणले मात्र त्यो पात्रमा जीवन भर्न सहज थिएन’ दीयाले भनिन् । उनलाई त्यो प्रेरणा जुम्ला पुगेपछि मिलेको हो । छायांकन भएको तिर्खु गाउँ र जुम्ला बजारको स्थानीय बन्न उनले मेहनत गरेकी हुन् ।
फिल्मको छायांकनको अवधिमा मेकअप वा अन्य कारणले क्यारेक्टरलाई जीवन्त बनाउन नसकिने भएकाले उनले त्यस्तो गरेकी हुन् । ‘मैले त्यसो गर्दा पेनलाई फिल गर्न पाए । छायांकन सकिएको एकवर्षसम्म पनि मेरो खुट्टा फुट्ने , रगत आउने समस्या हुन्थ्यो’ उनले भनिन् । उनले यस्तो गर्दा क्यारेक्टरमा देखिने स-साना गतिविधि समेत स्थानीयको झैँ थ्यो । हिड्दा खुट्टामा आउने समस्या , सुख्खा भाग फुट्ने समस्याले क्यारेक्टरमा जीवन भरेको थियो ।
पहिलोपटक दलनमा काम गर्दा निकै समस्या झेलेकी दीया अहिले भने क्यारेक्टरलाई सजिलै एडप्ट गर्नुका साथै छाड्न पनि सक्छिन् । यद्दपि त्यसका लागि उनले गर्ने मेहनत छदैछन् । सिताको भूमिका निर्वाह गर्दै गर्दा उनलाई केहि निर्देशकले अब आफ्नो उमेर अनुसारको भूमिका नपाउन सक्ने तर्फ संकेत पनि नगरेका होइनन् । तर यसलाई उनी सहजै लिन्छिन । ‘मैले कुनै क्यारेक्टर गर्छु भने त्यहाँ दीया नभई त्यहिँ क्यारेक्टर देखिनु पर्छ । त्यहिँ प्रयाश रहन्छ । मैले एउटा रोल गर्दा अर्को खोसिन्छ भने त्यसमा म सोच्दिन’ उनले भनिन् ।
सिताले गर्ने दुख जुम्लाकी महिलाले सहजै गर्छन् । पर्दामा आफ्नो भूमिका असुहाउँदो नदेखियोस् भनेर नै उनले सक्दो जीवन भर्ने प्रयाश गरिन् । उनी जुम्ला पुगेर भाषा मात्र नभई जीवनशैलीमै पस्ने प्रयाश गरिन् । उनले डोको बोक्ने महिलाको थाप्लो चुल्ठो बाट्ने तरिका , सुल्पा खाने बानी सिकिन । उनी डाडामा पुगेर बारीमा मल छर्ने , हल जोत्ने काम गरिन् । उनलाई सुल्पा खाने बानीले असर पनि गर्यो । उनले काठमाडौं फर्किएपछि आफ्नो शारीरिक जाँच समेत गराइन । किनकी उनलाई छातीमा केहि समस्या आएको थियो ।
‘मैले स्थानीय बनेपछि त्यहाँ हुने हरेक गतिविधि गर्नु पर्ने हुन्छ । जुम्लाकै कसैले फिल्म हेर्दा बाहिरी नलागोस् भनेर सुल्पा समेत तानेकी हुँ’ उनले भनिन् । त्यसो त उनले सितालाई जिउने मानसिक रुपमा तयारी गरेता पनि शारीरिक रुपमा मेकअपको सहारा लिने सोच बनाएकी थिइन् । तर छायांकन हुनु दुई साता अगाडी नै जुम्ला पुगेपछि उनले मेकअप भन्दा पनि स्थानीयकै जीवनशैली अपाउने निश्चय गरिन् । फलत: मेकअपसँगै उनमा देखिएको जीवन्त अभिनय उनकै मेहनतको प्रतिफल हो ।
त्यसो त दीया आफ्नो काममा इमान्दारिता देखाउन कन्जुस्याइँ गर्दिनन् । यसलाई दर्शकले कसरी लिन्छन भन्ने सोच्ने भन्दा पनि आफ्नो भूमिकालाई जीवन्त बनाउने तर्फ उनको बढी समय जान्छ । उनले आउने प्रतिक्रियाले हौसला मिल्ने भएता पनि आफ्नो काम प्रतिको इमान्दारिताकै रुपमा मात्र यसलाई लिन्छिन । ‘मैले आफूले पाएको भूमिकालाई जीवन्त बनाउन गर्ने मेहनत इमान्दारिताका साथ गर्नु पर्छ । त्यसलाई दर्शकले नोटिस गरिदिनु भएमा सुनमा सुगन्ध हुन्छ । नत्र आउने प्रतिक्रियाका आधारमा एउटा कलाकारले अभिनय गर्नु हुन्न । हामीले आफ्नो तर्फबाट इमान्दारिताका साथ् काम गर्ने हो’ दीयाले भनिन् ।
मेहन्द्र अधिकारी जस्ता निर्माताले मौलिक कथालाई मौलिक तरिकाले ल्याउन गरेको आटको पनि उनी तारिफ गर्छिन् । दिनेश राउतको निर्देशकीय शैलीले पनि उनलाई काम गर्न सहज भयो । ‘हाम्रो मौलिक कथा धेरै छन् । लगानी गर्ने निर्माता आउने हो भने हामीले यस्ता कथालाई पर्दा मार्फत धेरै दर्शकसम्म पुर्याउन सक्छौँ’ दीयाले भनिन् । मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा दीया र प्रदीपसँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
विकास सुबेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।












