सर्‍यो ‘सम्झना बिर्सना’

फिल्म । स्थानीय निर्वाचनको कारण देखाउँदै रिलिजको संघारमा रहेको फिल्म ‘सम्झना बिर्सना’ले प्रदर्शन मिति स्थगित गरेको छ । निर्माण टिमले चुनावका कारण फिल्म हेर्ने माहौल नरहेको भन्दै फिल्म निर्धारित मितिमा रिलिज नहुने जानकारी गराएको हो । यो फिल्मले जेठ ६ गते प्रदर्शन हुने गरी ट्रेलर तथा गीत सार्वजनिक गरेको थियो ।

दार्जिलिङमा सुटिङ भएको यो फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको थियो । सुटिङको समय अफेयरमा रहेका आकाश र पूजाको बीचमा ब्रेकअप भएपछि यो फिल्मको प्रचारलाई पनि असर पुगेको थियो ।

स्रोतका अनुसार ट्रेलर सार्वजनिक कार्यक्रममा मुस्किलले सँगै आएका आकाश र पूजा यसपछिको प्रचारमा सँगै हिँड्न इच्छुक थिएनन् । त्यही भएर निर्माण टिमले ट्रेलर रिलिजपछि कुनै पनि प्रचारको काम गर्न सकेका थिएनन् । यो फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् भने फिल्मका निर्माता आदित्यमान प्रधान रहेका छन् । निर्माण टिमले अर्को उपयुक्त मितिमा फिल्म रिलिज गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्