फिल्म । फिल्म ‘गोर्खा वारियर’ टिमले कोरोना भाइरस (कोभिड-१९) महामारीबाट प्रभावित नागरिकलाई स्वास्थ्य, खाद्यान्न तथा आर्थिक सहायता प्रदान गरेका छन् । नेपालमा कोरोना भाइरसको दोस्रो लहर बढेसंगै सामाजिक कार्यमा सक्रिय देखिएका निर्देशक मिलन चाम्सले विभिन्न स्थानमा पुगेर सहयोग गर्ने क्रममा पछिल्लो समय पूर्वी नेपालमा रहेको ओखलढुंगा, रामेछाप र दोलखा जिल्ला पुगेर प्रभावित बासिन्दालाई सहायता प्रदान गरेका हुन् ।
सहयोग अभियानमा निर्देशक चाम्ससंगै अभिनेता रितेश चाम्स पनि छन् । सय परिवारलाई खाद्यान्न, २५ जनालाई आर्थिक सहयोग र अन्यलाई मास्क, एन्टीजेन किट्, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । ‘हामीले सकेको सहयोग एकअर्कालाई गर्नु पर्छ’ निर्देशक चाम्सले भने ,’हामी आवश्यक माँझ सकेको सहयोग पुर्याउने कोशिसमा छौं ।’
निर्देशक चाम्ससंगै अभियानमा ओएसआर डिजिटल फाउन्डेसन र टिभी रियालिटी कमेडी च्याम्पियन जोडिएका छन् । गतसाता चाम्स नेतृत्वको गोर्खा वारियर टीमले काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री समेत वितरण गरेको थियो । चाँडै सिन्धुपाल्चोक, खोटाङ र गोरखाका प्रभावित नागरिकलाई पनि सहायता प्रदान गरिने चाम्सले जनाए ।










