‘ए मेरो हजुर ४’ को टिकेट बिक्री खुल्ला

फिल्म । आउँदो वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेका छन् । मल्टिप्लेक्समा शो खुलेसँगै टिकेट बिक्री पनि सुरु भएको छ । नेपाली कुनै फिल्मको शो खुलेको संवत पहिलो हो । प्राय रिलिजको २ वा ३ दिन अगाडी टिकेट विक्री गरिने भएता पनि फिल्मको लोकप्रियतालाई ध्यानमा राख्दै एक साता अगावै टिकेट विक्री नै खोलिएको हो । नयाँ वर्षमै प्रदर्शन भएको ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापार गरेको थियो ।

यसैले गर्दा पनि दर्शकले फिल्मलाई रुचाउनेमा निर्माता सुनिलकुमार थापा ढुक्क छन् । उनले आफ्नो अघिल्लो सिरिजहरुको तुलनामा कथ्य शैलीसँगै मेकिङमा पनि स्तरीयता बढेको बताए । ‘हामीले फिल्म बनाउदै अगाडी बढ्दै गर्दा स्तरीयता पनि बढेको छ । हामीले दर्शकको समय र पैसाको महत्व बुझेका छौँ’ निर्माता थापाले भने । उनले फिल्म हेर्न हलसम्म आउने दर्शकलाई फिल्मले निराश नबनाउने दाबी गरे ।

अभिनेता अनमोल केसीले पनि फिल्मको टिकेट खुल्ला भइसकेको हुँदा आफूलाई पायक परेको समयमा फिल्म हेर्न सकिने बताए । ‘फिल्मको शो खुलिसकेको छ । टिकेट पनि खरिद गर्न सकिन्छ । आफ्नो समयानुकूल फिल्म हेर्न सक्नुहुनेछ’ अनमोलले भने । निर्देशक झरना थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन पनि दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्‍यौं भनेर मूल्यांकन गरिदिने दर्शक हुन् । सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय रहेको छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्