फिल्म । अभिनेता दयाहाङ राई अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् । उनले सम्झौता गरेका फिल्मको संख्या हेर्ने हो भने आउँदो वर्ष पन्ध्रसम्म फिल्म प्रदर्शन हुँदैछ । जसको सुरुआत रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ मार्फत हुदैछ । विसं २०८१ को पहिलो दिन नै प्रदर्शन हुने उक्त फिल्ममा शिर्ष भूमिकामा दया छन् । यसको फस्टलुक्स सार्वजानिक गरिएको छ ।
रङ्गमञ्च हुँदै फिल्ममा अभिनय गर्न आइपुगेका दयालाई हिजो आज ‘टाइप कास्ट’ भईरहेको आरोप लाग्ने गरेको छ । उनले गर्ने भूमिका लगभग उस्तै देखिएको आरोप उनले खेपिरहेका छन् । ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता फिल्ममा अभिनय समेत गरेका दयालाई अहिले रकमी भएको आरोप लाग्न थालेको छ । उनले सम्झौता गरेको फिल्म कहिले र कसरी बन्छ भन्नेमै अन्यौल छ । उनले सम्झौता गरेका केही फिल्म समय अभावका कारण छाड्न पनि थालेका छन् ।
केही समय अगाडि मात्र उनले ‘वरिष्ठ बलराम’ छाडेको चर्चा चलेको थियो । यद्यपि निर्माण पक्षले त्यस्ता सत्यता नरहेको दावी गरिरहेको छ । दयाको होम प्रोडक्सन झैँ मानिएको बासुरी फिल्म्सको ‘डिग्री माइला’ मा उनले के कस्तो भूमिका निर्वाह गरे ? त्यो भने आउँदो समयले नै बताउने छ ।
थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्ने फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गरेका छन् ।










