फिल्म । शुक्रबारबाट नै न्यूरोडको रञ्जना सिनेमा पुनः सञ्चालनमा आउने भएको छ । बन्द भएको वषौं पछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आउन लागेको हो । वि.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो फिल्म हल मध्येको एक हो । कुनै समय फिल्म प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् । २०७१ सालबाट सञ्चालनमा आएको रञ्जना ट्रेण्ड सेन्टरमा विभिन्न ग्रुपले हल सञ्चालनका लागि तयारी गरेका थिए । अन्ततः नरेन्द्र महर्जनको ग्रुपले उक्त हल सञ्चालनमा ल्याउन लागेको हो ।
रञ्जना सिनेमामा १ सय ३०, १ सय ८० र २ सय ५१ सिट क्षमताका ३ वटा अडिटोरियम रहेका छन् । सञ्चालक नरेन्द्र महर्जनका अनुसार प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ ।










