शिवशंकरको नयाँ शो ‘जोगिन्दर मुखियाजी’

टिभी । जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणामजी’ मा देखिएपछि अर्को उपनाम पनि पाए ,’पानवाला’ । जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्म मार्फत पाएका थिए । ‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिए । त्यहीँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’, जोगिन्दरले भने । अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्ट फिल्म विजेता बनेसँगै जोगिन्दर क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडि बढाउने सोच बनाए ।

‘मैले क्यारेक्टरलाई कसरी जीवित राख्ने सोच्दै थिएँ र त्यही समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाइसँग सल्लाह गरेर कार्यक्रम सुरु गरे’ उनले भने । उनलाई सर्वसाधारणले पान पसलेसम्म भन्ने गरेका छन् । यद्दपी अब उनको क्यारेक्टर फेरिने भएको छ । जोगिन्दरबाट परिचित शिवशंकर अब ‘मुखियाजी’ बन्दैछन् । ग्लोबल टेलिभिजनबाट प्रसारण हुने शो ‘जोगिन्दर मुखियाजी’ मार्फत पनि उनले तराईकै क्यारेक्टरलाई ल्याउदै छन् ।

‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ , टोल वा वडामा हुने मुखियाजीकै आधारमा फैसला हुने गर्थे’ उनले भने । मुखियाजी विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम भएको शिवशंकरले बताए । उनले पहिलो एपिसोडमा पुर्वमन्त्री लालबाबु पण्डितलाई अतिथिको रुपमा निम्त्याएका छन् । ‘यसमा रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरु खाँदै गफगाफ गर्नेछु । यो साझा चौतारीमा सबैसँग भलाकुसारी गर्ने कार्यक्रम हो’ उनले भने । उनि टेलिभिजनमा कोरोना भाइरसको महामारी पश्चात आउन लागेका हुन् । उनले जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजी मार्फत आगामी कला यात्रालाई अगाडी बढाउने योजना सुनाए ।

कमेन्ट गर्नुहोस्