दर्शक प्रतिक्रिया लिन हल पुगे सुदर्शन र पुजा

फिल्म । नेपाली फिल्म हेर्न हलमा दर्शक फर्किएका छन् । कोरोना भाइरसको महामारी पश्चात रिलिज भएको ठुलो फिल्म मध्येको एक ‘म यस्तो गीत गाउँछु २’ ले सुखद सुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले दर्शकको साथ् पाएको निर्मातासँगै निर्देशक समेत रहेका सुदर्शन थापाले बताए । फिल्म बारे प्रतिक्रिया लिन हल पुगेका निर्देशक थापाले दर्शकले सम्पूर्ण पक्षलाई रुचाएको बताए ।

‘फिल्म हेर्न आउने दर्शक सन्तुष्ट हुनुहुन्छ । अब दर्शकको वर्ड अफ माउथमा पनि भर पर्छ । मसँगै मेरो टीमले राम्रो फिल्म बनाउने कोसिश गरेका छौँ’ निर्देशक थापाले भने । उनले सिंगल स्क्रिनसँगै मल्टिप्लेक्समा फिल्म हेर्न आउने सम्पूर्ण दर्शकलाई फिल्म मन परेको प्रतिक्रिया पाएको बताए । ‘हामीले पहिलो भाग बनाएपछि दोस्रो सिरिज लिएर आएका हौँ । हामीलाई प्रचारप्रसारमा नामले गर्दा सजिलो भएता पनि दर्शकको मंज जित्नै पर्ने चुनौती थियो’ निर्देशक थापाले भने ।

निर्देशक थापासँगै रहेका वितरक करण श्रेष्ठले दर्शक हलमा फर्किएको प्रतिक्रिया दिए । ‘कोरोनाको महामारी पश्चात नेपाली फिल्मका दर्शक हल फर्किएको प्रतिक्रिया पाइरहेको छु । विहान देखि म एक्लै र टीमसँग हलमा पुगेको छु । सुदर्शन र पूजाजीले दर्शकको प्रतिक्रिया लिई रहनु भएको छ भने म हल संचालकसँग पनि कुराकानी गरिरहेको छुँ । सबै उत्साहित हुनुहुन्छ’ वितरक श्रेष्ठले हने ।

उपत्यकामा उनको कम्पनि रिच इन्टरटेनमेन्टले जीजीए ग्रुपसँगको सहकार्यमा फिल्मलाई वितरण गरिरहेको छ । उनले फिल्ममा दर्शकको चाप बढेसँगै शनिवारबाट शोहरु बढेको बताए । ‘फिल्ममा दर्शक आएपछि शोहरु बढिरहेका छन् । अब दर्शकको पर्खाइमा रहेका नेपाली फिल्महरु रिलिज गर्दा आतिनु पर्ने अवस्था छैन’ वितरक श्रेष्ठले भने । फिल्म हेरिसकेका दर्शकको प्रतिक्रिया लिन पूजा शर्मा पनि हल पुगेकी थिइन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहेको फिल्मलाई प्रिमियरमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।

कमेन्ट गर्नुहोस्