‘डोको बुन्ने’ मा अबिषेक र आकृतिको नोस्टाल्जिक प्रेम

फिल्म । प्रेमकथानक फिल्म ‘कुमारी’ को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक भएका ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले लोक शैलीको नयाँ गीत दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीत ‘डोको बुन्ने’ मा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। गीतका शब्द सागर लामिछाने मगर र सुमन तामाङले लेखेका हुन् भने सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुले दिएका छन्। गीतको अडियो प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ रिकेश गुरुङले गरेका छन्।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीलाई नोस्टाल्जिक प्रेमभावमा प्रस्तुत गरिएको छ । गीतले नवयुवाबीच विकसित प्रेमलाई सरल र सुन्दर ढङ्गले चित्रण गरेको छ ।

कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथानक फिल्म सम्झँदै ‘प्रसाद’, ‘पुजार सार्की’ र ‘प्रकाश’ जस्ता सामाजिक विषयका फिल्मपछि आफू पुनः प्रेमकथामा फर्किएको बताए । उनले ‘डोको बुन्ने’ गीतले फिल्मको मौलिकता र नेपालीपन प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।

मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले यस फिल्मबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए । आकृतिले राम्रो टिम र बलियो स्क्रिप्टका कारण आफूले यो फिल्म रोजेको बताइन् भने अबिषेकले सानैदेखि फिल्मप्रति रुचि भएकाले यसैमार्फत आफ्नो सपना पूरा भएको बताए ।

फिल्ममा अबिषेक खड्का र आकृति राजभण्डारीसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायत कलाकारको अभिनय रहेको छ ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन् । छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

कमेन्ट गर्नुहोस्