खेलकुद । इंग्ल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो। लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङ र कप्तान ह्यारी केनले १/१ गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा स्टर्लिङले खेलको ७५ मिनेटमा गरेको गोलबाट इंग्ल्यान्डले खेलमा पहिले अग्रता लियो। लुक शाले दिएको पासमा उनले गोल गरेका थिए। खेलको ८६ मिनेटमा ह्यारी केनले इंग्ल्यान्डको अग्रता दोब्बर पारेका थिए।
जर्मनीविरुद्ध इंग्ल्यान्डले ५५ वर्षपछि नकआउट चरणमा जित हात पारेको हो । इंग्ल्यान्डले १९६६ को विश्वकपको फाइनलमा हराएपछि पहिलो पटक जर्मनीलाई नकआउट चरणमा पराजित हात गरेको हो । जर्मनीका थोमस मुलरले बराबरी गोल फर्काउने अवसर खेर फालेका थिए।
उनले इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डसँगको वान अन वानको अवस्थामा हानेको प्रहार आउट भएको थियो । अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ । (एजेन्सी)









