‘प्रतिभालाई सुन्दरताको आवश्यकता पर्दैन’

फिल्म । पछिल्लो समय नेपाली फिल्मी क्षेत्रसंग सम्बन्धित एकपछि अर्को आन्तरिक विवाद आइरहेको छ । कोरोना भाइरसको कारण ठप्प रहेको फिल्मनगरीमा आरोप , प्रत्यारोप र विवाद भने चलायमान छ । पछिल्लो समय कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले आफ्नो कार्यक्रममा नेपाली अभिनेत्रीसंग जोडेर टिप्पणी गरेपछि त्यो तुच्छ रहेको भन्दै नेपाली अभिनेत्रीहरुले आफ्नो विचार सामाजिक सञ्जाल मार्फत व्यक्त गरिरहेका छन् । यसैक्रम पूजा शर्माले आफुलाइ अन्तर्वातामा बोलाइएको र जान नमानेपछि यस्तो भद्दा टिप्पणी दिएको भन्दै आफु सम्बद्ध संस्थामा उजुरी समेत दिईसकेकी छिन् ।

यसैक्रममा अभिनेत्रीहरुले प्रवृतिको विरोध गरिरहेका छन् । जसक्रममा अभिनेत्री गौरी मल्लले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा प्रस्ट्याएकी छिन् । उनले प्रतिभालाई सुन्दरता नचाहिने भन्दै भारतीय अभिनेत्री शबाना आजमीको उदाहरण दिएकी छिन् । ‘शबाना धेरै समयसम्म खुलेर हासिनन् तर जब उनलाई आफ्नो सुन्दरता थाहा भयो उनले त्यसको फिक्री गरिनन् । प्रतिभालाई सुन्दरता चाहिदैन बरु सुन्दर भएकालाई प्रतिभा चाहिन्छ’ गौरीले लेखेकी छन् ।

उनले समय बदलिएको भन्दै अब सबैजना बदलिन आवश्यक रहेको बताएकी छिन् । अभिनेत्री मल्लले आफूले यति लामो समय अर्पण गरेको र पूजा योग्य मानेको क्षेत्रमा अनावश्यक चर्चा चल्दा दुःख लाग्ने उल्लेख गरेकी छिन् । उनले आज भन्दा ३० बर्ष अगाडि निर्देशक प्रकाश थापा, निर्माता भगवान दास श्रेष्ठले आफूलाई विश्वास नगरेको भए गौरी मल्ल भनेर आज कलाकारको रुपमा परिचय बनाउन नसक्ने पनि उल्लेख गरेकी छिन् । उनले, अरुको गल्ती चाडै र सहज रुपमा उजागर गर्ने मानिसले सोही काम अरुबाट भयो भने सहन नसक्ने पनि उल्लेख गरेकी छिन् ।’तीन दशकदेखि केही सिकेर आएका हामीले आजका पुस्तालाई माया दिएर हुर्काउने हो, आफ्नो अनुभव साट्ने हो, प्रोत्साहन गर्ने हो न कि उनीहरुलाई फक्रिने मौका नदिई निरुत्साहित बनाउने’ गौरीले लेखेकी छन् ।

कमेन्ट गर्नुहोस्