देश । संक्रमितको संख्या बढेसँगै पुन: मुलुकभर लकडाउन हुने आशंका बढिरहेका बेला सरकारका प्रवक्ता, अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मुलुकव्यापी लकडाउन नहुने बताएका छन् । उनले जोखिम भएको स्थानमा मात्र स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्ने जानकारी दिए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने बताए । मन्त्री खतिवडाले सरकारले आईसीयू शय्या विस्तार गर्ने तयारी गरिरहेको बताएका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधि अपनाउने पनि प्रतिबद्धता जनाए ।
यसैगरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले पनि सरकार पूर्ण रूपमा लकडाउन लगाउने मनस्थितिमा नरहेको बताए । संक्रमण बढी रहेको क्षेत्रलाई आधारमा मानी लकडाउन गरेर संक्रमण फैलनबाट रोक्ने उनको भनाइ छ । उनका अनुसार ४–५ दिन परीक्षण बढाएर अवस्था हेरेपछि आउने नतिजाको आधारमा भविष्यमा के गर्ने भन्ने निचोड निकालिनेछ ।










