देश । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या (न्युज तयार पार्दासम्म) ९ हजार ३ सय पुगेको छ । बिहीबार दिउँसो विभिन्न अन्तराष्ट्रिय संचार माध्यममा आएको विवरण अनुसार २ लाख २५ हजार ८ सय ६० जना भाइरस संक्रमित भएका छन् । विश्वका १ सय ६६ देशमा यो भाइरस फैलिएको छ ।
विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन । हालसम्म चीनमा ३ हजार २ सय ४२ जनाको मृत्यु भएको छ भने ८१ हजार १ सय ७४ मानिसहरु संक्रमित भएका छन् । इटालीमा ३५ हजार ७ सय १३ संक्रमित र २ हजार ९ सय ७६ को मृत्यु भएको पुष्टि भएको छ । चीनपछि भाइरस संक्रमित र मृत्यु उच्च रहेको देश इटाली हो । कोरोनाका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार दक्षिण कोरियामा ८ हजार ४ सय १३, जर्मनीमा ८ हजार १ सय ९८, फ्रान्समा ७ हजार ६ सय ५२, स्वीजरल्याण्डमा ३ हजार ३, नेदरल्याण्डमा २ हजार ५१, बेल्जियममा १ हजार ४ सय ८६, डेनर्माकमा १ हजार ४४, जापानमा ८ सय ७३, स्वीडेनमा १ हजार २ सय ७९, नर्वेमा १ हजार ४ सय २३, कतारमा ४ सय ४२, मलेसियामा ६ सय ७३, अस्ट्रेलियामा ५ सय १० कोरोना भाइरस संक्रमित छन् ।
कोरोना भाइरसले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि ‘सेमी लकडाउन’ शैलीमा केहि निर्देशन गरेको छ । आजबाट हुने भनिएको ‘एसईई’ को परिक्षा समेत रोकिएको छ । नेपालमा हुन सक्ने जोखिमलाई घटाउन उच्च सतर्कता बढाईएको छ ।









