विकासप्रेमी सीडीओको गाडी दुर्घटना रहस्यमय बन्दै, ड्राइभर छुटाउन भीआईपीको चलखेल !

देश । गत माघ १२ गते बाराको पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पसाहा खोलाको पुल नजिकै बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरीको एसपी बलराम पोखरेल सवार जिप दुर्घटनाको घटना रहस्यमय बनेको छ । नियतबस जिप दुर्घटना गराएको आरोपमा प्रहरी हिरासतमा रहेका सवारी चालक जगतनारायण राउत कुर्मीलाई छुटाउन भीआईपीहरु नै लागेपछि घटना रहस्यमय बन्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीले तीव्र गतिमा चलाएको स्कार्पियो जिप पूर्वपश्चिम महेन्द्र राजमार्गको पसाहा खोलाको पुल नजिकै दुर्घटना भएको थियो । ढुंगा लोड गरेको टेलरमा ठोक्किँदा जिपमा सवार सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो भने गम्भीर घाइते भएका प्रजिअ भट्टराईको हाल चिन्ताजनक अवस्थामा काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । सवारी चालक कुर्मीले लापरवाहीपूर्वक तीव्र गतिमा जिप चलाउँदा भाईको मृत्यु भएको भन्दै एसपी पोखरेलका दाजु शालिग्राम पोखरेलले सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी दिएपछि हाल कुर्मी सवारी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन् । घटना हुनुअघि चालक कुर्मीलाई आफ्नो गतिविधि सुधार गर्न एसपी पोखरेल र प्रमुख जिल्ला अधिकारीले सम्झाएको बताइएको छ । सोही रिस फेर्न उनले लापरबाहीपूर्वक सवारी चलाएको कुर्मीलाई चिन्नेहरुले नाम नबताउने सर्तमा बताएका छन् ।

लामो समयदेखि जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत सवारी चालक कुर्मीले आफूलाई प्रमुख जिल्ला अधिकारीभन्दा पनि बढी शक्तिशाली ठान्ने गरेको स्थानीय बताउँछन् । उनलाई बाराको ‘स्थायी सीडीओ’ समेत भन्ने गरिएको छ । २३ वर्षदेखि सीडीओको सवारी चालक रहँदै आएका उनी विभिन्न शक्ति केन्द्रमा समेत प्रभाव पार्न सक्ने व्यक्ति भएको स्थानीय बताउँछन् । “सामान्य सवारी चालकको जागिर खाएको भए पनि कुर्मी जिल्ला प्रशासन कार्यालयमा आउने उजुरीको सेटिङ गर्नेदेखि सामान्य नागरिक र व्यापारीहरुलाई समेत तर्साउने गर्दथे,” एक स्थानीयले भने, “बिचौलियाको काम गरेर उसले शक्ति केन्द्रहरुलाई रिझाउने गरेको थियो ।” कुर्मी प्रहरी हिरासतमा परेपछि उनलाई छुटाउन विभिन्न शक्तिकेन्द्रबाट दवाव आउन थालेको बताइएको छ । यसले पनि घटना थप रहस्यमय बनेको छ ।

सामान्य आर्थिक हैसियतका चालक कुर्मी प्रजिअको सवारी चलाउन थालेपछि अथाह सम्पत्ति आर्जन गर्न सफल हुनुले पनि उनको गतिविधि शंकास्पद भएको अनुमान गरिएको छ । कुर्मीको हाल कलैयामा नमुना घर र जग्गा गरी चार करोड मूल्यको सम्पत्ति छ । काठमाडौं सिंहदरबार नजिकै अनामनगरमा आलिशान महल छ । जसको मूल्य पाँच करोड भन्दा बढी पर्ने बताइन्छ । उनको गाउँमा ब्रम्हपुरीमा पाँच विगाहा जग्गा तथा घडेरी रहेको र त्यसको मूल्य पाँच करोड भन्दा बढी रहेको छ । त्यसैगरी कलैया र वीरगन्ज कैयौं स्थानमा घडेरी जोडेका स्रोत बताउँछ ।

प्रजिअ भट्टराई को हुन् ? सर्लाहीको हरिऔन स्थायी घर भएका भट्टराई दोलखा, ओखलढुंगा, रौतहट, धनकुटा, बझाङ र अछामको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् । यसअघि उनले कारागार व्यवस्थापन विभागको निर्देशकको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहायक सीडीओ र केन्द्रीय कारागारको जेलरसमेत भइसकेका छन् । दोलखाको प्रमुख जिल्ला अधिकारी हुँदा उनले पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरेर चर्चामा आएका थिए ।

जुन जिल्लामा भट्टराई प्रजिअको रुपमा पुगे, त्यहाँका स्थानीय राजनीतिक दलहरुलाई समन्वय गर्नुका साथै विकास निर्माण, नागरिक हकहित र सुशासनका लागि काम गरेका थिए । उनको यही काम गर्ने शैली, निडरपन र हक्की स्वभावका कारण निजामती कर्मचारी क्षेत्रमा पनि चर्चित थिए । प्रमुख जिल्ला अधिकारी भट्टराईले गरेका कामको प्रशंसा संघीय सरकारका उच्च अधिकारीहरुले गर्ने गरेका छन् । गृहसचिव प्रेमकुमार राई निजामती सेवाका कर्मचारीहरुप्रति जनताको धेरै विश्वास नभइरहेका बेला भट्टराईले नमूना काम गर्न सुरु गरेको भन्दै कर्मचारीहरु माझ नै प्रशंसा गर्दै ७७ जिल्लाका सीडीओमध्ये भट्टराई उत्कृष्ट भएको बताउँछन् । सरकाले खटाएका जिल्लामा सहजै पुगेर आफ्नो काम गर्ने शैलीका कारण लोकप्रिय बनेका भट्टराई दुर्घटनामा परेपछि ती जिल्लाहरुमा स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराई दुर्घटनामा परेर गम्भीर घाइते भई उपचारका लागि अस्पतालमा भर्ना गरिएपछि बाराबासीमा अहिले विभिन्न शंकाउपशंका उत्पन्न भएको छ । बारालाई नमूना जिल्ला बनाउने अभियान थालेका भट्टराईको कामसमेत अलपत्र पर्ने आशंका उनीहरुको छ । प्रमुख जिल्ला अधिकारी भट्टराई बाराको शान्ति सुरक्षा, अमन चयन र विकास निर्माणमा सुधार ल्याउँदै नमूना जिल्ला बनाउने अभियानमा लागेका थिए । उनलाई जिल्लाबासीले इमान्दार र नैतिकवान सीडीओको रुपमा मूल्यांकन गर्ने गरेका छन् । भट्टराईका काममा सशस्त्र प्रहरीका एसपी पोखरेले साथ दिएका थिए । प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरीका एसपी पोखरेल सवार जिप दुर्घटनाले बारावासी मात्र स्तब्ध भएका छैनन् । शंकास्पद घटनाले सम्पूर्ण निजामती कर्मचारी नै आश्चर्यमा परेका छन् । घटना छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्न नसकिए जुनसुकै निजामती कर्मचारी पनि कुर्मीजस्तै सन्की चालक, बिचौलिया र भ्रष्टहरुको चेपुवामा पर्न नसक्लान भन्न सकिन्न ।

कमेन्ट गर्नुहोस्