देश । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो घोषित अवधि यहिँ २० गते सकिने लाग्दा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटी केहि परिवर्तन गर्दै बढाउने निर्णय गरेको हो । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गरिनेछ ।
यसैगरी , भारतबाट स्थलमार्ग हुँदै भित्रिएका नेपालीलाई घरसम्म पुर्याउने गरी आवश्यक सवारीसाधन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रवेश गरेकाहरूको तीनपुस्ते विवरण संकलनका लागि ‘होल्डिङ सेन्टर’ मा राख्ने र त्यसपछि सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यसतर्फ पठाउने व्यवस्था सरकारले गरेको हो । सेनाले बनाएको खाकाअनुसार तत्काल भारतसहित विभिन्न मुलुकबाट ९ लाख जना स्वदेश भित्रिन सक्ने अनुमान छ ।
वैशाख १२ को मन्त्रिपरिषद् बैठकले विदेशबाट आउन चाहने नेपालीलाई सरकारले नै पहल गरेर ल्याउने र १४ दिनसम्म तोकिएको क्वारेन्टाइनमा बस्नुपर्ने गरी कार्यविधि जारी गरेको थियो । उक्त कार्यविधिका आधारमा भारतबाट आउन चाहनेले दक्षिणतर्फ पूर्वको पशुपतिनगरदेखि सुदूरपश्चिमको दार्चुलासम्मका २० वटा नाकामात्रै प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको थियो ।










