देश । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । यद्दपी ठिक हुनेको संख्या पनि बढ्दो छ । यसैक्रममा विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय बुधबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने ६ जना नै भारतको नयाँदिल्लीका बासिन्दा हुन् ।
संक्रमण मुक्त भएपनि उनीहरुको थप १४ दिन निगरानी गरिने छ । त्यसपछि गरिने परिक्षणमा रिपोर्ट नेगेटिभ आएमा उनीहरु पूर्ण रुपमा कोरोना भाइरस मुक्त हुनेछन् । उनीहरुलाई दुई वटा एम्बुलेन्समा विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने ‘पोजिटिभ’ आएपछी उपचाररत नै छन् । उपचार केन्द्रमा रहेका भुल्केका अन्य १५ जनाको पनि सोमबार परीक्षणका लागि स्वाब संकलन गरिएको तर नतिजा आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासीसहित १२ जनामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । योसँगै नेपालमा हालसम्म संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या २२ पुगेको छ भने विभिन्न अस्पतालमा ७० जना उपचाररत छन् ।










