देश । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको आरोप लगाएका छन् । उनले आइतबार ८ पृष्ठ लामाे १५ बुँदे वक्तव्य जारी गर्दै यो सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको समेत आरोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनको दुई दिनपछि आइतबार विज्ञप्तिमार्फत १५ बुँदे असहमति प्रस्तुत गर्दै अध्यक्ष ओलीले सरकार असफल दिशामा उन्मुख भएको आरोप लगाएका हुन् । उनले राज्यका तीन वटै अंग संकट उन्मुख रहेकोसमेत उल्लेख गरेका छन् ।
उनले वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्यत रहेको बताउँदै स्थानीय तहको निर्वाचन धकेल्न सरकारले अनेक प्रयास गरिरहेको उल्लेख गरेका छन् । संविधानले स्थानीय तहको म्याद सकिनुभन्दा दुई महिनाअगावै निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था गरे पनि सरकार संविधानको धारा २ सय ५५ को भ्रमपूर्ण व्याख्या गरेर उम्कन खोजेको ओलीको आरोप छ।
१५ बुँदा लामो वक्तव्यमा अध्यक्ष ओलीले सरकार कोरोना महामारी नियन्त्रण, सुशासन कायम गर्न र कानुनी राज्य स्थापना गर्न असफल भएको बताए । राज्यका तीनवटै निकाय संकट अवस्थामा रहेको उनको भनाइ छ । देशको आर्थिक अवस्था संकट अवस्थामा रहेको भन्दै आर्थिक परिसूचक सबै ओरालो लागेको दाबी पनि गरेका छन् । पत्रकार सम्मेलनमार्फत ओलीले सरकारका ६ महिनाबारे धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि उनी कोरोना संक्रमित भएपछि वक्तव्य जारी भएकाे हाे ।







