बुद्ध धर्मका गुरू साक्या ठ्रिछेन् रिन्पोछेद्वारा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुँदै

देश । बुद्ध धर्मका गुरू ४१औं साक्या गोङमा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । बौद्धस्थित एक क्याफेमा व्योम कुसुमा बुद्ध धर्म संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २७ मा तारागाउँ म्युजियमको खुला चौरमा ‘महाकरुणामय अवलोकितेश्वर महाभिषेक’ हुने जानकारी दिएको छ ।

संघका अध्यक्ष मुकुन्द विष्टले अवलोकितेश्वरको महाभिषेकले विश्व जगत र प्राणीमा सद्भाव बढाउने बताए । उनले भने,‘विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक उर्जा र सद्भाव प्रवाह गर्न महाभिषेक गर्न लागेका हौँ ।’ उनले महाभिषेकले प्राणीलाई सकारात्मक प्रेरणा दिने बताए ।

सोही संघका धर्मधर नारायण प्रसाद रिजालले हिंसा, युद्ध, शक्तिको होडबाजीजस्ता मानव सिर्जित समस्याले आक्रान्त रहेको समस्या यस्ता गतिविधीले शान्तिको मार्ग देखाउने बताए । ‘साधनाका लागि काठमाडौँको आफ्नै महत्व छ । यो धार्मिक रुपमा पवित्र स्थल हुनुका साथै साधनाका लागि उपयुक्त छ । गुरूलाई विशेष आग्रह गरिएकोले उहाँले यो समयमा यहाँ महाभिषेक गर्न तयार हुनुभयो । यो सबैका लागि खुल्ला छ, सहभागी हुन् सक्नुहुनेछ ।’

इन्टरनेशनल बुद्धिस्ट एकेडेमीका अध्यक्ष खेन्पो जोर्डनले साक्या परम्पराको बारेमा जानकारी दिनुका साथै गुरूको बारेमा जानकारी दिए । उनले गुरू साक्या समुदायको ४१ औँ सिद्ध र सुयोग्य रहेकाले उहाँद्वारा हुने महाभिषेकमा सहभागी हुनु आफैँमा सुवर्ण अवसर रहेको बताए । ‘धार्मिक र सांस्कृतिक रुपमा महत्व बोकेको काठमाडौँमा गरिएका प्रार्थनाले पछिल्ला विपत्तिबाट हामीलाई बचाएको जस्तो लाग्छ । यो महाभिषेकले सदभाव बढाउदै शान्ति कायम गर्न प्रेरित गर्छ’, उनले भने ।

विभेद, वैमनस्य र विश्वासको संकट गहिरो बन्दै गइरहेको सन्दर्भमा चारै बौद्ध सम्प्रदायबाट सम्मानित, धेरै मण्डलहरुको सिद्धि गरिसकेका महामण्डलाधिपति महान् गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने महाअभिषेक सम्पूर्ण मानव जातिमा शान्ति, परस्पर सद्भाव र मैत्रीको सञ्चार गर्ने पवित्र उद्देश्यले गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपालमा परापूर्वकालदेखि समग्र हिमाली क्षेत्रका साथै नेपालमण्डल, पहाड र तराई क्षेत्रमा पनि आर्य अवलोकितेश्वरको विशेष कृपा भएको कुरा यहाँका रीति, रिवाज, जात्रा, परम्परा आदि धेरै सांस्कृतिक पक्षहरूमा प्रतिविम्बित रहेको छ ।

चीन र भोटक्षेत्रका धेरै पूर्वगुरुहरुले पनि नेपालमा रहेर बुद्धका शिक्षा र वज्रयानका उपदेशहरुलाई सिक्ने र यहाँबाटै भारत, श्रीलङ्का, म्यान्मार, क्याम्बोडिया, लाओस्, इण्डोनेशिया आदि तमाम एशियाली मुलुकहरुतिर गएर थप कुराहरु सिक्दै फेरि यही बाटो हुँदै आआफ्ना क्षेत्रमा लगी स्थापित गर्ने गरेको तथ्य इतिहासमा लिपिबद्ध छ । नेपाली भूमिमा रहेर सद्धर्मको श्रवण, अध्ययन या चिन्ततन-मनन र अभ्यास गर्नु सबैका लागि प्रेरणास्पद हुने उद्देश्यका साथ महाअभिषेक आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

कमेन्ट गर्नुहोस्