विदेश । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो करिब दुइ महिनापछी इटाली फर्किएका छन्। इटालियन सिरिए क्लब युभेन्ट्सले नियमित अभ्यासका लागि आफ्ना खेलाडीलाई बोलाएपछि रोनाल्डो पनि पोर्चुगलबाट सोमबार अबेर इटाली आइपुगेका हुन्। पाँच पटकका ‘बेलन डी ओर’ विजेता ३५ वर्षीय रोनाल्डो आफ्नो व्यक्तिगत जेटमा परिवारसहित इटाली आइपुगेका रोनाल्डोले दुई साता क्वारेन्टाइनमा बिताएपछि मात्र उनी नियमित अभ्यासमा सहभागी हुनेछन्।
युभेन्ट्सले नियमित अभ्यास सुरु गर्नुअघि आफ्ना खेलाडीको कोरोना भाइरस परीक्षण पनि गराउनेछ । रोनाल्डो अगाडीनै फेड्रिको बेनार्डडेस्ची, हुवाँ क्वार्डाडो, कार्लो पिनसोग्लियो, लियोनर्दो बोनुसी र एरोन रामसी भने यसअघि नै इटाली फर्किसकेका छन् । म्याथिज डे लिट र क्लाइस माटुडी भने अझै इटाली फर्कन बाँकी छ । गोन्जालो हिग्वेन भने आमाको स्वास्थ्य समस्याका कारण अझै केही समय अर्जेन्टिनामै रहने छन्।
कोरोना भाइरसको त्रासका कारण इटालियन सिरिए स्थगित हुनुअघि केही टोलीले १२ र केही टोलीले १३ खेल खेल्न बाँकी छ। २६ खेलबाट ६३ अंक जोडेको युभेन्ट्स तालिकाको पहिलो स्थानमा छ। समान खेलबाट ६२ अंक हात पारेको लाजियो तालिकाको दोस्रो स्थानमा छ। रेलिगेसनमा पर्न सक्ने सम्भावना रहेका टोलीबीच पनि निकै कम अंकको अन्तर देखिन्छ।
इटालीको सरकारले पनि खेलाडीलाई सामाजिक दूरी कायम राख्दै नियमित अभ्यासमा फर्कन अनुमति दिएको छ। यद्यपि, इटालीमा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन। (एजेन्सी)










