दर्शकबिना नै अवार्ड

फिल्म । यतिबेला कोरोना भाइरस (कोभिड–१९) को असर विश्व्यापी छ । यस भाइरसले यतिबेला बलियो देश मानिने अमेरिकामा पनि संकटकाल घोषणा गर्ने स्थिति बनाएको छ । नेपालमा समेत उच्च सतर्कता अपनाई रहेको अवस्था छ । नेपालकै छिमेकी मुलुक चीनबाट सुरु भएको भनिएको यो भाइरस यतिबेला अर्को छिमेकी मुलुक भारतमा पनि बढ्दो छ । मृत्यु हुनेको संख्या र संक्रमित दर बढिरहेका बेला भारतका केही सहरमा फिल्म हल बन्द भइसकेका छन् भने केही फिल्मले रिलिज स्थगित गरेका छन् तर यही संकटका घडीमा पनि जी सिने अवार्ड भने बिनादर्शकको उपस्थितिमा गरिएको छ । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै यस्तो गरिएको अवार्ड आयोजकले जनाएका छन् ।

अवार्डको टेलिभिजन ब्रोडकास्ट मार्च २८ मा जी टीभी र जी सिनेमामार्फत् हुने बताइएको छ । समारोहका लागि भनेर टिकट काटेका दर्शकले भने यसअघि नै उक्त रकम फिर्ता पाइसकेका छन् । अभिनेता रनवीर सिंहले यस वर्षको जी सिने अवार्डमा बाजी मारेका छन् । उनले फिल्म ‘गल्ली ब्वाई’ का लागि उत्कृष्ट अभिनेतामा त अवार्ड जिते नै, सोही फिल्मबाट थप दुई अवार्ड जितेर ह्याट्रिक पनि गरे, जसमा सङ अफ दि इयर र अनस्क्रिन पेयरको अवार्ड पनि सामेल रहे । अनस्क्रिन पेयरका लागि भने उनले उक्त अवार्ड ‘गल्ली ब्वाई’ कै को–एक्टर आलिया भट्टसँग साझेदार गरेका हुन् ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म ‘बदला’ का लागि तापसी पन्नूले जितिन् । शुक्रबार साँझ आयोजित समारोहमा बलिउड स्टार हृत्तिक रोशन, रनवीर सिंह, साराअलि खान, तापसी पन्नू, राजकुमार राव, अनन्या पाण्डे, कार्तिक आर्यन, गोविन्दालगायतले प्रस्तुति दिएका थिए । ‘गल्ली ब्वाई’ बाटै अर्का अभिनेता सिद्धान्त चतुर्वेदीले उत्कृष्ट नवअभिनेताको अवार्ड जिते भने कार्तिक आर्यनले ‘पति, पत्नी और वोह’ का लागि कमिक रोलमा अवार्ड थापे । (एजेन्सी)

कमेन्ट गर्नुहोस्