‘जहाजैमा’मा केदार अनुबन्धित

फिल्म । निर्देशक कृषा चौलागाईंको तेस्रो फिल्म ‘जहाजैमा’मा चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । फिल्मको निर्माण टिमले आज केदारसँग औपचारिक सम्झौता गरेको छ । कृषा र केदारको यो पहिलो सहकार्य हो ।

‘केदारजी अहिले सर्वाधिक रुचाइएका कलाकार हुनुहुन्छ । हाम्रो फिल्ममा उहाँको महत्वपूर्ण भूमिका छ । उहाँलाई टिममा समावेश गर्न पाउँदा हामी उत्साहित छौँ’, निर्देशक चौलागाईंले भनिन् ।

फिल्मको प्रि-प्रोडक्सन कार्य तीव्र गतिमा भइरहेको छ । निर्माता उज्ज्वल गुरागाईं प्रि-प्रोडक्सनमा सहभागी हुन जापानबाट नेपाल आएका छन् । उनले नै केदारसँग सम्झौता गरेका हुन् ।

‘जहाजैमा’ मा मल्टिस्टारर कलाकारहरू रहनेछन् । अन्य कलाकारहरूसँग कुराकानी भइरहेको भए पनि अन्तिम निर्णय भइनसकेको निर्माण पक्षले जनाएको छ । जापानी अभिनेत्री रुजेल इचिमिया भने यसअघि नै अनुबन्धित भइसकेकी छिन् । फिल्मले नेपाल, जापान र फिलिपिन्सको कथा प्रस्तुत गर्नेछ । यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्मको छायाङ्कन भदौबाट सुरु हुनेछ र नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ ।

कमेन्ट गर्नुहोस्