फिल्म । हलमा दुइ नेपाली फिल्म ‘सेल्फी किङ्ग’ र ‘साङ्लो’ प्रदर्शनमा आएको छ । केहि महिना यता आश गरिएका फिल्म हलमा नआएको सन्दर्भ यो साता भने दुइ फिल्म एकसाथ प्रदर्शनमा आएका हुन् । यद्दपी विराज भट्टको अभिनयसँगै निर्माण र निर्देशनमा डेब्यु रहेको फिल्म ‘साङ्लो’ र विपिन कार्की अभिनित फिल्म’सेल्फी किङ्ग’को लक्षित दर्शक एक होइनन् । यी दुइ फिल्म मध्ये एक मल्टिप्लेक्स लक्षित छ भने अर्को सिङ्गल स्क्रीन । यसैले गर्दा पनि यी दुइ फिल्म एकसाथ प्रदर्शनमा आउँदा पनि फरक नपर्ने किसिमकै रहेका छन् ।
साङ्लो
दशक अगाडी ‘एक्सन स्टार’ को ट्याग पाएका विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ एक्सनमय फिल्म रहेको छ । विराजले आफ्नो क्रेज फर्काउने कोसिसका साथै कन्टेनमा फोकस गरेका छन् । उनको लक्षित दर्शकका लागि ट्रेलर मसालेदार छ । अर्थात विराजको पर्खाइमा रहेका दर्शकले यसमा भरपुर मनोरंजन पाउने ट्रेलरले संकेत गरिसकेको छ ।
‘चरीले काफल’ गीत हिट भइसकेको फिल्ममा विराजले पुर्व मिस नेपाल निकिता चाण्डकसँग जोडी बाधेका छन् । निकिताको यो डेब्यु फिल्म हो । यसमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । एक्सन जनराको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको छ ।
सेल्फी किङ्ग
भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ प्रदर्शनमा आएको छ । प्रिमियरमा निकै तारिफ पाएको फिल्मले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले ‘सेल्फी किङ्ग’ भूमिका निर्वाह गरेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई यसमा समेटिएको छ ।
फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।
फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।










