तोडियो ४७ वर्षको ईयू-बेलायत सम्बन्ध

विदेश । अन्तत बेलायत ईयुबाट औपचारिक रुपमा अलग्गिएको छ । लामो अन्योल, राजनीतिक उतारचढाव र विभाजनपछि बेलायतले ४७ वर्षको सम्बन्धमा पूर्णविराम लगाएको हो । ब्रिटिस जनताले ईयूबाट अलग्गिने पक्षमा मतदान गरेको एक हजार ३ सय १८ दिनपछि बेलायत शुक्रबार राति ११ बजेदेखि ईयूबाट छुटिट्एको हो ।

गत २३ जुन, २०१६ मा भएको ईयू जनमत संग्रहमा ५१ दशमलव ९ प्रतिशत जनताले अलग्गिने पक्षमा मत हालेका थिए । ईयू इतिहासमा सदस्य राष्ट्रको बहिर्गमन भएको पहिलो पटक हो । सन् १९७३, १ जनवरीदेखि युरोपियन क्लब प्रवेश गरेको ब्रिटेन १७ हजार १९७ दिनपछि शुक्रबार बाहिरिएको हो । प्रधानमन्त्री बोरिस जोनसनले आफ्‍नो कार्यालय टेन डाउनिङ स्ट्रिटमा शुक्रबार विशेष कार्यक्रमसहित ईयूलाई बिदाइ गरेको छन् । ब्रेक्जिट डेका अवसरमा लन्डनस्थित संसद भवन अगाडि यूकेका चारवटै राज्यको एकताको प्रदर्शन गर्दै संयुक्त अधिराज्यको राष्ट्रिय झण्डा युनियन ज्याक फहराइएको थियो ।

ब्रेक्जिट पक्षधरहरु दिउँसोदेखि मध्यरातसम्म झण्डा बोकेर नारा लगाइरहेका थिए । पार्लियामेन्ट स्क्वायरमा आयोजित भव्य‘डिभोर्स पार्टी’मा हजारौं सहभागी भए । राति १० बजेदेखि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा ‘काउन्ट डाउन’ घडी राखिएको थियो जहां रातो, सेतो र निलो रंगका बत्ती बलेका थिए । अन्य सरकारी भवनमा समेत दीप प्रज्ज्वलन गरियो । ३० वर्षपछि बेलायतमा अब फेरि पासपोर्टको रंग निलो हुने भएको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्