‘नेपाली फिल्मलाई निरन्तरता दिन्छु’

फिल्म । दशक अगाडी ‘एक्सन स्टार’ को ट्याग पाएका विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरलाई विराजले मसलेदार बनाएका छन् । एक्सनमय ट्रेलरबाट विराजले आफ्नो क्रेज फर्काउने कोसिस गरेका छन् । दशक अगाडीकै जोसका साथ् उनि फर्किएका छन् । फिल्मको ट्रेलरमा विराजले कन्टेनसंगै एक्सन देखाएका छन् । उनि आफ्नो फ्यानलाई पुनः खुसि बनाउने कोसिसमा छन् ।

यसैक्रममा एक्सन अभिनेताले आफु नेपाली फिल्म छाडेर नगएको बताए । ‘म ठुलो उद्दोगमा गएको हुँ तर नेपाली फिल्म छाडेको होइन’ उनले भने । उनले नेपाली फिल्ममा अब रेगुलर काम गर्ने पनि बताए । ‘उता पनि काम गरिरहेको छु तर अब यता पनि रेगुलर गर्छु’ विराज भन्छन् ,’राम्रो फिल्म बनाउने कोसिस गरेको छु र माया पाउँछु भन्ने आश छ ।’ पत्रकार सम्मेलनमा कार्यक्रम संचालक नरेश भट्टराइले भट्टलाई बाघ फर्किएको भन्दै सम्बोधन गरे । विराजलाई ‘बाघ फर्किएको’ भन्दै कार्यक्रम संचालकले सम्बोधन गरेपछि पत्रकारले पनि यही प्रश्न गरे । के बाघ फर्किएकै हो त ? यो प्रश्नमा विराजले भने–‘बाघ कहाँ गएको थियो र फर्किनका लागि ? बाघ कतै पनि गएको छैन । बाघले जंगल मात्र परिवर्तन गरेको हो ।’ उनै, विराज केही बर्ष अगाडि मात्र निर्माता रोज राणाको ‘जय परशुराम’बाट नेपाली फिल्ममा फर्किए । तर, यसले कमाल देखाउन सकेन ।

‘चरीले काफल’ बोलको पहिलो सार्वजनिक गीत मार्फत दर्शकको विश्वास जितेका विराजले ट्रेलर पनि दर्शकले मन पराउनेमा आफु विश्वस्त रहेको बताए । ‘साङ्लो’ मा विराजसँगै निकिता चण्डक ,कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन जनराको यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्