नामकै कारण तनाव

फिल्म । रजतपटमा आउने भएपछि अधिकांश कलाकारको नाम परिवर्तन हुन्छ । सक्कली नाम छाडेर नक्कली नाम राख्नेको ठूलै पंक्ति छ, उद्योगमा । तर, कसैलाई भने यही नगर्दा पिरलो छ । नम्रता श्रेष्ठ यसको ताजा उदाहरण हुन् ।

नम्रता श्रेष्ठ भन्नेबित्तिकै धेरैले ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ आदिकी हिरोइन सम्झन्छन् । तर, उद्योगमा अर्की नम्रता श्रेष्ठ पनि छिन्, जसले ‘गाँठो’बाट डेब्यू गरेकी थिइन् । ठूली नम्रताको कुरै भएन, उद्योगमा राम्रै स्थापित छिन् । तर, यी सानी नम्रता श्रेष्ठलाई भने यही नामले अगाडि बढ्न नसकेको हो कि भन्ने परेको छ । किनकि, उनको अभिनयको तारिफ भए पनि उनले प्रशस्त फिल्म पाउन सकेकी छैनन्।

हाल ‘माछा माछा’को प्रचारप्रसारमा व्यस्त उनले एउटा अन्तर्वार्तामा गल्ती भएको स्विकारिन्, ‘ पहिला अस्तित्व हराउला भन्ने डरले नाम चेन्ज गर्न मानिनँ। अहिले नामकै कारण अगाडि बढ्न नसकेको जस्तो लाग्छ।’ राम्रो काम गरेपछि नाम बन्ने हो। नम्रताले अलि हतार नगरे बेस हुन्थ्यो। (सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्