‘दर्शकलाई भेट्न उत्साहित छु’

30 Shares

फिल्म । अभिनेता राजेश हमालले महानायकको उपाधि पाइसकेका छन् । उनले फिल्मनगरीमा निरन्तर गरेको कर्मकै आधारमा दर्शकले उनलाई महानायक भन्न थालेका हुन् । त्यसो त उनको व्यक्तित्वले पनि यसलाई सपोर्ट नै गर्छ । यिनै हमालले दर्शकसँग प्रत्यक्ष भेट्न पाउँदा कलाकार उत्साहित हुने बताएका छन् । पछिल्लो समय ठुलो पर्दाको तुलनामा सानो पर्दा मार्फत दर्शक माँझ पुगिरहेका हमाल कार्तिक २० गते विर्तामोडबाट सुरु हुने ‘सप्तरंग २’ मा सहभागी हुदैछन् ।

उनले सातै प्रदेशमा पुगेर आफ्ना दर्शकसँग साक्षात्कार गर्नेछन् । ‘हामी अप्रत्यक्ष रुपमा त दर्शक समक्ष पुग्छौ नै साथै तर यसकिसिमले प्रत्यक्ष भेट्न पाउँदा खुसि छुटै हुन्छ’ हमालले भने । उनले यो कार्यक्रम खास रहेको समेत बताए । कलाकारको नेतृत्व लिएका अभिनेता हमालले भने, ‘किनकी यस्तो कार्यक्रमले हामी देशबासीलाई एकआपसमा जोडेर सूत्रबद्ध मात्र गर्ने नभई हामीमा भएको विविधतालाई पस्केर अझ मजबुत समेत पार्ने विश्वास लिएको छु । यो अभियानमा सम्पूर्ण जनता जोडिनु हुनेछ भन्ने आशा छ ।’ दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी समेत गरिने आयोजकको दाबी छ ।

विज्ञापन

‘कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला, संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको छ’ गृष्मा ब्रोडकास्टिङका गृहेन्द्र घिमिरेले भने । यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत यस कार्यक्रमले टेवा पुर्याउने बताइएको छ। ‘राष्ट्रियताको कुनै मुल्य हुदैन भन्ने’ सोचका साथ् कार्यक्रमलाई निशुल्क गरिएको घिमिरेले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।

दोस्रो शृंखलाको लागि अभिनेता हमालसँगै गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई , विवेक खतिवडा र पुजन थापाले संचालन गर्नेछन् । पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने समेत जनाइयो ।

विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज , २४ गते चितवन , २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । गत बिक्रम संवत २०७० सालमा ‘ढकाल सुमधुर साँझ’ गरेर इभेन्टमा पाइला टेकेको गृष्मा ब्रोर्डकास्टिङले त्यसपछि भ्यालेन्टाइन नाइट , साकुरा नाइट , शुभयात्रा साँझ लगायतका कार्यक्रम गरिसकेको छ ।

‘सप्तरंग २’ का लागि सबै कलाकार विर्तामोडमा

कार्यक्रमको सुरुवात हुने विर्तामोड सहरमा यतिबेला सप्तरंगको दोस्रो शृंखलामा सहभागी हुने सम्पूर्ण कलाकार पुगिसकेका छन् । मंगलवार राजधानीबाट विर्तामोड प्रस्थान गरेको टोलिलाई एअरपोर्टमै बाजा सहित भव्य स्वागत गरिएको थियो । स्थानीयवासीले कलाकार प्रति देखाएको सम्मानले कार्यक्रममा झनै हौसला थपेको आयोजक घिमिरेले जनाए ।

कमेन्ट गर्नुहोस्