फिल्म । दर्शकले रुचाएको जोडी मध्यको एक आकाश श्रेष्ठ र पुजा शर्माको जोडी अभिनित फिल्म ‘पोइ पर्यो काले’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दशैंको शुभकामनासहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ । कालो वर्णको एक युवकको जीवनमा आउने उचार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।
आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा पुजा र आकाशसंगै सौगात मल्ल , सृष्टी श्रेष्ठ , सुरक्षा पन्त लगायतको अभिनय रहेको छ । ट्रेलरमार्फत् फिल्मका कलाकारहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा अभिनेत्री पूजाको नाम पूजा नै छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ । काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । सौगातले भने कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् । उनी पूजालाई मनपराउँछन् । फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।
शिव ढकालले फिल्म खिचेका हुन् भने कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मका लेखक तथा निर्देशक शिशिर राणा हुन् । उनले यसअघि फिल्म ‘तिमीसँग’ को क्याप्टेनसिप सम्हालेका थिए । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ । फिल्मको यसअघि शिर्ष गीत सार्वजनिक भइसकेको छ ।








