देश । नेपाल प्रहरी कस्तो छ ? उनीहरुले गर्ने कार्य के के हुन् ? वा उनीहरु अपराधी वा सर्वसाधारणसँग कसरि प्रस्तुत हुन्छन् ? प्रहरी कस्ता हुन्छन् ? यसलाई केहि हदसम्म फिल्मले पनि प्रस्ट्याउछ । अर्थात् फिल्ममा देखाइने प्रहरीको चरित्रले पनि आम मानिसहरुमा उनीहरुको छाप पारिरहेको हुन्छ ।
यसै सन्दर्भमा नेपाल प्रहरीले फिल्मकर्मीसँग छलफल गरेको छ । नेपाल चलचित्र निर्माता संघलाई पत्राचार गर्दै फिल्मकर्मी उपथित गराईदिनु हुन् अनुरोध गरेको प्रहरीले सबै भन्दा पहिला पोशाकमै सुधार ल्याउनुपर्ने औल्याएको छ । आयोजित छलफलमा नेपाल प्रहरीलाई फिल्ममा प्रस्तुत गरिएको केहि क्लिप देखाइएको थियो । क्लिपमा प्रहरीको पोशाक सहि तरिकाले नलगाएको , दर्जानी चिन्ह वरियता अनुसार प्रयोग नगरिएको , क्षेत्रीय चिन्हको पोशाक पिच्छे नै भिन्नता , पुलिसको जवान जस्तो नदेखिएको लगायतका विभिन्न गल्तीलाइ देखाइएको थियो ।
‘अहिलेको नेपाल प्रहरी अपडेट भैसकेको छ त्यसैले हामीलाई त्यहि अनुसार प्रस्तुत गरीयोस भन्ने चाहेका छौ’ प्रहरी प्रमुख सर्वेन्द्र खनालले भने । उनले फिल्म मार्फत नै प्रहरी प्रतिको मानसिकता आम मानिसले बनाउने भएकाले फिल्मकर्मीसँग छलफल गरिएको बताए । ‘हामी हाम्रो संगठनलाई पर्दामा देख्दा चुस्त र दुरुस्त हेर्न चाहन्छौ’ उनले भने । यसैगरी नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने नेपाल प्रहरीलाई फिल्ममा देखाऊनुको समस्या औल्याए ।
‘हामी चाहन्छौ प्रहरीलाई चुस्त र दुरुस्त देखाउन तर प्राविधिक कठिनाइ धेरै छ’ अध्यक्ष अधिकारीले यसमा नेपाल प्रहरीले हातेमालो गर्नु पर्ने औल्याए । ‘हामीले प्रहरीले प्रयोग गर्ने सम्पूर्ण कुरा सरल रुपमा पाउदैनौ त्यसैले हुन् सक्छ हामी केहि खुम्चिएका छौ’ उनले भने ।
उनले नेपाल प्रहरीले एउटा संयन्त्रको विकास गर्दै फिल्मकर्मीसँग हातेमालो गर्नु पर्ने औल्याए । छलफलमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र नीर शाह , कलाकारहरु कृष्ण मल्ल , भुवन केसी , किरण केसी , लेखक सामीप्यराज तिमिल्सेना , वितरक तथा निर्माता गोपालकाजि कायस्थ, निर्माता संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।












