खेलकुद । युरो कप २०२० मा मंगलवार विहान भएको ‘बी’ समुह अन्तर्गतको खेलमा बेल्जियम र डेनमार्क अन्तिम १६ मा पुगेका छन् । सुरुवाती दुई खेलमा पराजित भए पनि समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको हो । डेनमार्कले मंगलबार विहान सकिएको समूह ‘बी’ को खेलमा रसियामाथि ४-१ को जित निकाल्यो।
घरेलु मैदानमा भएको खेलमा डेनमार्कका लागि डाम्सगार्डले ३८ मिनेटमा पहिलो गोल , पाउलसेनले ५९ मिनेटमा दोस्रो गोल गरेका थिए भने ७० मिनेटमा जुवाले रसियाका लागि पेनाल्टीबाट गोल फर्काए । त्यसपछि डेनमार्कका लागि क्रिस्टियनसनले ७९ मिनेट र मइहले ८२ मिनेटमा गोल गरेका थिए । जितसँगै डेनमार्कले ३ अंक जोड्दै दोस्रो भयो । समूहमा तेस्रो भएको फिनल्यान्ड र रसियाको पनि समान ३-३ अंक भए पनि डेनमार्क गोलअन्तरमा अघि रह्यो ।
यस्तै , समुहको अर्को खेलमा फिनल्याण्डलाई २–० ले हराएर बेल्जियमले शतप्रतिशत जित निकालेको छ । रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा पहिलोपल्ट युरो खेलिरहेको फिनल्याण्डले बेल्जियमलाई ७४ मिनेटसम्म रोकेको थियो । फिनिस डिफेण्डर लुकास हार्डेकीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको बेल्जियमका लागि रोमेलु लुकाकुले त्यसको १० मिनेटपछि गोल गरे र टिमलाई २–० को जित निश्चित गराए । जितसँगै बेल्जिमयले समूहमा ९ अंक जोड्यो र समुहको विजेता बन्यो । (एजेन्सी)










