राजनीतिमा ‘मिस नेपाल अर्थ’ प्रिया

देश । सन् २०१८ कि ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देल साझा पार्टी प्रवेश गरेकी छन् । उनलाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी सहितको प्रेस विज्ञप्ति रविन्द्र मिश्रले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्न लागि परेको साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी सिग्देलले पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् । उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन् ।

सिग्देलले पनि आफुलाई रुचिको विषय भएकोले राजनीतिमा लागेको बताएकी छिन् । उनले भनिन् ‘अग्रज पुस्तासंग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु।’ सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय हो भन्ने पार्टीको निष्कर्ष रहेको छ ।

कमेन्ट गर्नुहोस्