नेपाल साँस्कृतिक महासंघको महाधिवेशन भदौ भित्र गरिने

देश । नेपाली काङ्ग्रेस निकट नेपाल साँस्कृतिक महासंघले २०८१ भदौभित्रै तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ । महामन्त्री शिवशंकरप्रसाद रिजालका अनुसार तेस्रो महाधिवेशन र महासंघअन्तर्गत सम्पूर्ण तह तथा तप्काहरूको अधिवेशन ०८१ भदौ महिनाभित्रै सम्पन्न गर्ने निर्णय फागुन २८ गते बसेको वैठकले गरेको हो ।

साथै लोकगायक विमलराज क्षेत्रीको एकल मेची-महाकाली लोकतान्त्रिक सांगीतिक अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ। चैत महिनामा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘साहित्य, संस्कृति र राजनीति’ विषयक अन्तर्क्रिया गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

महासंघको विधानअनुसार पूर्ण कार्यसमिति बनाउन अध्यक्ष तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । महासंघले डा ध्रुवचन्द्र गौतम, नीर शाह, किरन मानन्धर, महेश प्रसाई, कृष्णसुधा ढुंगानालाई सल्लाहकार मनोनीत गरेको छ ।

महामन्त्री रिजालका अनुसार महासंघको विधान २०६२ (संशोधनसहित) बमोजिम पूर्ण कार्यसमिति निर्माण गर्न केन्द्रीय सभापति श्री तीर्थ बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति, केन्द्रीय सदस्य अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, केन्द्रीय सदस्य गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति, केन्द्रीय सदस्य शर्मिला बोहराको संयोजकत्वमा विधागत संघसंस्था समन्वय विभाग, केन्द्रीय सदस्य प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, केन्द्रीय सदस्य विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, केन्द्रीय सदस्य कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, केन्द्रीय सदस्य कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र नेपाल सास्कृतिक महासंघ विधान संशोधन महासमितिको संयोजकत्वमा केन्द्रीय सदस्य कृष्णगोपाल केसी रहेका छन् ।

कमेन्ट गर्नुहोस्