‘दुई चलचित्र निर्देशन गर्ने इच्छा छ’

फिल्म । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकको रुपमा पनि परिचित छन् । उनले निर्देशन गरेका नाटक मध्ये एक ’डिग्री माइला’ अहिले चलचित्र बनेर प्रदर्शनरत छ । नाटकको निर्माण गर्दा नै उनले शैक्षिक वेरोजगारको कथालाई रोजेका थिए । गाउँमा हुने माइलामार्फत उनले सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरेकाछन् ।

‘हामीले तयार गरेको माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो । किनकि उनीहरू आफू भन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन् सक्दैनन् र नयाँसँग विचार मिल्दैन । त्यसकारण माइलामार्फत कथा भन्न मन लागेको हो । नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनु पर्छ भन्ने लागेको थियो’, अभिनेता राईले भने ।

उहाँले नाटक निर्देशन गरेता पनि चलचित्र निर्देशन गरेनन् । ‘डिग्री माइला’ शिर्षकमा चलचित्र बन्ने चर्चा चल्दा धेरैले अभिनेता राईले निर्देशन गर्नुहुन्छ भन्ने अनुमान गरिएको थियो । यद्यपि अभिनेता राईको योजना दुई चलचित्र निर्देशन गर्ने छ ।

‘यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन । अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन । यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटे भने दुई चलचित्र निर्देशन गर्छु’, अभिनेता राईले भने ।

निर्देशनमा आउँदा आफूले जानेको कुरा प्रयोग गर्ने सोचाईमा छन् उनी । किनकि रङ्गमञ्चमार्फत चलचित्रमा प्राप्त गरेको सफलताले अभिनेता राईको चलचित्रमा व्यावसायिक र कलात्मक मध्ये कुन पाटो हावी हुन्छ भन्ने कौतुहलता हुनु स्वाभाविक छ ।

‘मैले चयन गर्ने विषयले नै मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ । किनकि कथालाई कसरी देखाउदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ । त्यसकारण अहिले त्यस विषयमा धेरै सोचेको छौँ, म प्रति अपेक्षा छ भन्नेमा ज्ञात छु’, अभिनेता राईले भने।

उनले ‘डिग्री माइला’ जस्तो व्यावसायिक चलचित्रसँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा पनि अभिनय गरेकाछन् । उल्लेखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनुका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन् । साथै,उनी अभिनित प्रदर्शन भईसकेको ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा र प्रदर्शन हुने ‘घर ज्वाईं’ मा मगर समुदायको कथा छ ।

आफूलाई समुदाय, ग्रामिण भेगको कथालाई पर्दामा ल्याउन उत्साह लाग्ने अभिनेता राईले बताए । उनले भने,‘मैले कलात्मक चलचित्रमार्फत नेपाली विषयलाई विश्वभर पु¥याउन सक्छु । त्यसैले त्यस्ता चलचित्रमा काम गर्ने मेरो इच्छा हुन्छ । त्यस्ता निर्माता र निर्देशकलाई प्रोत्साहन गर्नु हामी कलाकारको दायित्व पनि हो । किनकि ती चलचित्रले नयाँ बजार निर्माणमा भूमिका खेल्छ ।’ अभिनेता राई गत वर्ष विसं २०८० मा सर्वाधिक चलचित्रमा अभिनय गर्ने अभिनेतामा पर्छन् ।

कमेन्ट गर्नुहोस्