फिल्म । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ आउँदो फागुन ९ मा प्रदर्शन हुने भएको छ । यस अघि जेठ १० र साउन ३० गरि दुईपटक प्रदर्शन मिति घोषणा गरेर पनि आउँदो असोज ३ लाई प्रदर्शन मिती घोषणा गर्ने तयारीमा रहेता पनि पछिल्लो समयको रिलिजको भद्रगोलले गर्दा फिल्मले महाशिवरात्रीलाई रोजेको हो । माओत्से गुरुङले निर्देशन रहेको फिल्मले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा समेट्ने बताइएको छ ।
गुरुङ भाषाको फिल्म निर्देशन गर्दै आएका कलाकार माओत्सेले यो फिल्मबाट मूलधारे फिल्ममा पाइला राख्न लागेका हुन् । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक गुरुङ स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ । फिल्ममा अभिनेत्री दीयालाई दयालु युवतीको रुपमा ब्याख्या गर्न खोजिएको निर्देशक गुरुङको भनाई छ ।








