अध्यक्षमा लय र सरिताको उम्मेदवारी

फिल्म । यही चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा कलाकारद्वय लय संग्रौला र सरिता लामिछाने उम्मेदवारी घोषणा गरेका छन् । यी दुइले नै सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सरिता संघकी महासचिव हुन् भने लयले यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, स्वर्गीय रामकेशर बोगटीसँग उनी पराजित भएका थिए । उनि फेरी अध्यक्षको पदमा उम्मेदवारीका साथ अगाडी आएका छन् ।

लयले प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् , भने सरिताले उम्मेदवारी मात्र घोषणा गरेकी छन् । स्वर्गीय बोगटीले राम्रो काम गरेको र उनले अघि सारेका कामलाई पूरा गर्ने लयले प्रतिबद्धता व्यक्त गरेका छन् । संघको भवन निर्माण कार्य एक वर्षभित्र पूरा गर्ने, कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि गर्ने, जीवन बीमा योजनालाई सक्रियताका साथ लागु गर्ने, कलकारहरुको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरुको जीवन निर्वाहका लागि उचित योजना ल्याउनेलगायतका बुँदा उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा छ । सरिता भने केही दिनमा पत्रकार सम्मेलनमार्फत् आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारीमा छिन् ।

कमेन्ट गर्नुहोस्