फिल्म । फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को छायांकन सम्पन्न भएको छ । निर्माणपक्षले सोमबार ३५ दिनमै सम्पूर्ण छायांकन सकिएको औपचारिक घोषणा गर्यो । निर्देशक हिमाल न्यौपानेले इन्डक्ल्याप समारोहमा बोल्दै अपेक्षा अनुरूप छायांकन सम्पन्न भएको जनाए । ‘अब पोस्ट-प्रोडक्सनमा पनि मेहनत गर्छौं । दर्शकलाई राम्रो फिल्म दिने प्रयास रहनेछ’, उनले भने ।
‘जनै हराएको बाहुन’ ले गाउँबाट सहर आएका एक सरल व्यक्तिको कथालाई चित्रण गर्नेछ, जसले भोगेका अनपेक्षित परिस्थितिहरूले उनको जीवनमा ल्याउने परिवर्तन र आमाछोराको भावनात्मक सम्बन्ध फिल्मको मूल कथा हो । फिल्म एसोसियट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन् । उनले फिल्ममा जनैका धागोजस्तै सम्बन्धहरूलाई कथा र संवादले बुनेको बताए ।
यस फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । पेपरक्लिप प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी छन् ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक छन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकको रूपमा संलग्न छन् । यसमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत, नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ । ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ लाई तीजको अवसर पारेर भदौ महिनामा प्रदर्शन गर्ने तयारी छ, यद्यपि औपचारिक प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन ।