फिल्म । गत इदमा बलिउडको ठुलो फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ हाइब्रिड रिलिज भयो । हल र ओटीटी प्लेटफर्ममा एकसाथ ल्याउने भनिएको फिल्म भारतमा बढिरहेको कोरोना भाइरसको दोस्रो लहरका कारण निकै कम हलमा लाग्यो । तर , डिजिटल प्लेटफर्म जीप्लेक्स र जी फाइभमा फिल्मले रेकर्ड नै ब्रेक गर्यो । पहिलो दिन ४२ लाखले फिल्म हेर्दा सर्भरले थेग्न सकेन ।
हालसम्म फिल्मलाई झन्डै एक करोडले हेरिसकेको बताइएको छ । फिल्म हल संचालन भइरहेको स्थानमा हलमै पनि प्रदर्शनरत छ । सलमान खान अभिनित फिल्म भएकोले पनि यसलाई हल खुलेको स्थानमा फ्यानहरु हलमै गएर हेर्ने गरेका छन् । राम्रो प्रतिक्रिया नपाउदा पनि फिल्मको कलेक्सन र भ्युअर्स उत्साहजनक छन् । सलमानले आफ्नो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरेपछि बलिउडका अन्य निर्माता तथा निर्देशकहरुले पनि यसबारे सोच्न थालेका छन् ।
प्रदर्शनकै लागि तयार भएर पनि रोकिएको फिल्महरु सूर्यवंशी र ८३ का निर्माण पक्षले पनि ओटीटी बारे सोच्न थालेका छन् । यी दुइ फिल्म पूर्ण रुपमा तयार छन् भने रिलिज घोषित मितीबाट नै डेढ वर्ष धकेलिन लागिसकेको छ । अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी बम्ब’ पनि ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । यसैले गर्दा पनि फ्रिज भइरहेको पैसालाई सदुपयोग गर्न निर्माण पक्षले रिलिज गर्न सक्ने चर्चा यतिबेला बि-टाउनमा छ ।
दुवै फिल्म रिलायन्स इन्टरटेनमेन्टसंग रहेकाले यसलाई पनि पे पर भ्यु माध्यमबाट डिजिटल , डिटीएच र खुलेका स्थानमा हलमा रिलिज गर्न सक्ने सम्भावना बढ्दो छ । यस्तै जी इन्टरटेनमेन्टले ‘राधे : योर मोस्ट वान्टेड भाइ’ कै फर्मेटमा फिल्म रिलिज गर्न प्रस्ताव गरिरहेको छ । यसका साथै जीले सलमान खानकै प्रोडक्सनमा निर्मित अन्तिम फिल्म पनि रिलिज गर्दैछ ।
सलमानका ज्वाई आयुष शर्मा अभिनित फिल्म जीमै रिलिज हुने भएपछी राधे सहित डिल गरिएको खबर भारतीय मिडियामा छ । यसका साथै जीले अजय देवगनको फिल्म ‘मैदान’ पनि रिलिज गर्न प्रस्ताव गरेको छ । फिल्म तयार भएकाले डिजिटल प्लेटफर्म र हलमा एकसाथ रिलिज गर्न प्रस्ताव गरिएको हो । यद्दपी निर्माण पक्षले कुनै घोषणा भने गरेका छैनन् ।