रुचाईयो ‘जिन्दगी नै भन्दिन’ (भिडियो)

480 Shares

फिल्म । पछिल्लो समयका युवास्टार अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ को रोमान्टिक गीत ‘जिन्दगी नै भन्दिन’ लाइ दर्शकले रुचाएका छन् । गत शुक्रबार सार्वजनिक भएको गीतलाई दर्शकको साथ मिलेकै कारण ट्रेण्डिङ नम्बर १ प्राप्त भएको छ । अनमोलसँगै गीतमा डेब्यु गर्ल सुहाना थापा छिन् । फिल्मकी निर्देशक तथा कलाकार झरना थापा तथा निर्माता सुनिलकुमार थापाकी छोरी सुहानालाई दर्शकले रुचाएका छन् ।

फिल्मको सार्वजनिक गीतले पाएको भ्युज र ट्रेण्डिङलाई हेर्ने हो भने सुहानालाई दर्शकले स्वीकारेका छन् । उनकै नामबाट दर्ता भएको प्रोडक्सन हाउस सुहाना इन्टरटेनमेन्ट मार्फत सुनिल र झरनाले फिल्म बनाइसकेका छन् । हिमाली भेगको मनोरम दृश्यसँगै अमेरिकामा छायाँकन गरिएको गीतमा यी दुइको प्रेम भाव देखाइएको छ । गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको छ भने यसमा आशिष अविरलको संगीत रहेको छ । गीतका रचनाकार एक नारायण भण्डारी हुन् ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् भने यसलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन गरेका छन् ।

Facebook Comments