‘ह्रस्व दीर्घ’ : ‘जपिँदैन हरि’ सार्वजनिक

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ मा समावेश गीत ‘जपिँदैन हरि’ सार्वजनिक गरिएको छ । एक जोडीको प्रेमभाव बोल्ने गीतमा केतन क्षेत्री र मेनुका पौडेलको स्वर, प्रतिक पौडेलको शब्द रचना तथा संगीत छ । गीतमा नीता ढुंगाना, हरिहर अधिकारी र सरोज खनालसहितका कलाकारहरु फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा नीता र हरिहर रोमान्टिक देखिएका छन् ।

यो गीतले फिल्ममा हरिहर र नीता बीचको प्रेम अगाडी बढाउन मदत गरेको छ । नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको फिल्मले दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण आगामी दिनमा व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दर्शकले फिल्मलाई रुचाएको बताइन ।

चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्