एन्फाले सार्वजनिक गर्यो नयाँ लाेगाे, जर्सी र गीत

देश । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको छ । राजधानीमा एक पत्रकार सम्मेलन गर्दै एन्फाले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो । नयाँ लोगो पोखराका सन्दीप तिवारीले तयार पारेका हुन् । उक्त लोगो निर्माण गरेका तिवारीलाई एन्फाले नगद ५० हजार दिएर सम्मान गरेको छ ।

सगरमाथा र बीचमा नेपालको झण्डा राखेर नयाँ लोगो तयार गरिएको हो जसको पुछारमा फुटबलको चिन्ह छ । यस्तै फुटबल भित्र मुलुकको ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातै रङ राखिएको छ । यसैगरी नेपाली राष्ट्रिय टोलीले लगाउने जर्सी पनि परिवर्तन गरेको छ । नयाँ जर्सी एकै ढाँचाको रहेकोछ । यसअघि नेपाली टोलीले फरक फरक कम्पनीको फरक-फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो ।

नयाँ जर्सी यस पटक पनि दुई रातो र निलो रङको छ। तर, लोगो राखेको स्थान परिवर्तन भएका छन् । जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ । जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डाको सट्टा एन्फाको लोगो हुनेछ । राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ । साथै , एन्फाले फुटबल टिमको गीतसमेत सार्वजनिक गरेको छ। फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन्। गीतमा शिव परियार, ईन्दिरा जोशीलगायतको स्वर छ ।

कमेन्ट गर्नुहोस्