राप्रपाको रथ यात्रा

देश । मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरू सिंगारिएका रथ र विभिन्न धर्म सम्प्रदायका झाँकीसहित ताप्लेजुङ प्रस्थान गरेका छन् । राजधानी काठमाडौंको नयाँबानेश्वरमा अध्यक्ष कमल थापाले सिंगारिएका रथ र सवारी साधनमा पार्टीको झण्डा राख्दै अभियानमा संलग्न कार्यकर्ताको बिदाई गरेका हुन् । आइतबार दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका गरेपछि स्वाभिमान यात्रा झन् मजबुत भएको हो । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए । बोहोरासहितका नेताहरु आइतबार कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका हो ।

स्वाभिमान यात्राका लागि ताप्लेजुङ लान लागिएका रथहरूमा गाई, स्वयम्भू र पृथ्वीनारायण शाहको मूर्ति राखिएको छ। गाई राखिएको सिंगारिएको रथ पहिलो, स्वयम्भूनाथको मूर्ति राखिएको रथ दोस्रो र तेस्रोमा पृथ्वीनारायण शाहको मूर्ति राखिएको रथपछि विभिन्न धर्म र सम्प्रदायको पहिचान झल्किने झाँकीसहितका सवारी साधनहरूको लस्कर साथ राप्रपाका कार्यकर्ता राजधानीबाट औपचारिक रूपमा बिदा भई यात्रामा निस्किएका हुन् । स्वाभिमान यात्रामा प्रयोग गर्ने गरी राष्ट्रियता, सनातन धर्म र एकता झल्काउने विम्बसहितका कयौं सामग्रीहरू तयार पारिएको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक गर्दै राष्ट्रवादी आधारभूमि तयार पार्नका लागि मेची महाकाली यात्रा गर्न लागिएको स्पष्ट पारे । राप्रपाले यही फागुन १५ गते ताप्लेजुङबाट मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरू गर्दै छ । २ हजार ८ सय १० किलोमिटर दूरीको यात्राका क्रममा विभिन्न स्थानमा २ सय बढी सभा गरिने पनि राप्रपाले जनाएको छ।

कमेन्ट गर्नुहोस्