प्रहरीको सहयोगमा ११ वर्षपछि भेटे बाबुले विष्णु

देश । अन्तत गायिका विष्णु माँझीले आफ्नो परिवारसँग भेट गरेकी छिन । आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी चढेर श्रीमान सुन्दरमणि अधिकारीसँग उनि स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी थिइन् । केहि समय अगाडी विष्णु गुमनाम छिन र उनलाइ विगत ११ बर्ष देखि उनकै पिताले भेट्न पाएका छैनन् भन्ने समाचारहरु बाहिर आएपछि उनि जिप्रका पुगेकी थिइन् । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन् । एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए । एसपी लम्सालले विष्णु दम्पतिलाई विहिवार नै सम्पर्क गरेका थिए , तर सुन्दरमणिले शुक्रबार र शनिवार काम छ भन्ने रिक्वेस्ट गरेपछि आइतवार भेट्ने तय गरिएको थियो ।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए । मिडियालाई प्रवेश नगराउने र तस्वीर खिच्न नदिने शर्तमा विष्णु दम्पति त्यहाँ आएका थिए , यसैले गर्दा छलफलमा मिडिया थिएनन् भने तस्वीर पनि खिचिएँन । ‘विष्णुजीले गाउँले भाषामै केहि जवाफ दिनु भयो तर त्यति खुल्नु भएँन’ एसपी लामिछानेले छलफलपछी मिडियासँग कुरा गर्दै भने । अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको विष्णु दम्पतिले बताएका थिए ।

विष्णुले भने आफूले धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन् । छलफलका क्रममा बाबुआमा भने त्यत्ति बोलेनन् । दाइ बाबुरामले बहिनी विष्णुसँग बेलाबेलामा सम्पर्क हुने बताए भने बहिनी जीवन काठमाडौंमा सँगै बस्दै आएको सुन्दरमणिले बताएका थिए । साथै , एसपी लम्सालले विष्णुको अनुहारमा कुनै चोट, खत नभएको पनि प्रस्ट्याए । सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको छ । बाबु ५८ वर्षीय ताराबहादुरले छोरी विष्णुसँग भेट नभएको ११ वर्ष भएको यसअघि बताएका थिए ।

कमेन्ट गर्नुहोस्