फिल्म । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’ लाई विशेष शोमा हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्म टिम र निम्तालुसँगै आम दर्शकले हेरेको उक्त शोबाट निस्किनेले यसको विषयवस्तुको तारिफ गरे । फिल्मको ट्रेलरमा नखुलाइएको विषयवस्तुलाई पर्दामा देख्दा सरप्राइजसँगै केही सिकाइ प्राप्त भएको दर्शकहरूले प्रतिक्रिया दिए ।
फिल्मका कलाकार सोनाम तोप्देनले पनि फिल्मको इमोसनल पार्टले आफैँलाई पनि छोएको बताए । ‘प्राप्त प्रतिक्रियाले मलाई भावुक पनि बनायो । आफूले गरेको मेहनत र व्यक्त गर्न खोजेको भवना जब पर्दा बाहिरको संसारमा जोडिन्छ, कलाकार खुसी नै हुन्छ’, उनले भने । उनले आफ्नो पात्रले मनोरन्जनसँगै केही सिकाइ पनि दर्शकलाई दिएको बताए ।
यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले पनि सबै कलाकारले राम्रो काम गरेको बताईन् । ‘हामी सबैको कामलाई मन पराउनुभएको प्रतिक्रिया पाएँ, म आफैँ दर्शक भएर हेर्दा पनि सबैको काम राम्रो लाग्यो । हामीले जति अपेक्षा गरेका छौँ वा हामीलाई जति मन परेको छ, त्यो भन्दा बढी दर्शकले रुचाउनुभयो’, उनले भनिन् ।
निर्देशक अशोक थापा मगरको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘खुस्मा’ निर्देशन गरेका थिए। ‘जलाकी’मा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् । त्यस्तै, बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।









